पृष्ठभूमि
आजभोलि इस्लामको सही जानकारी नहुनाले समाजमा धेरै अनभिज्ञता फैलिएको छ। गैरमुस्लिम मात्र होइन् यहाँ त स्वयं मुस्लिम परिवारमा जन्मेका र आफुलाई पक्का मुसलमान भन्नेहरुलाई समेत सही जानकारी नरहेकोले सामाजिक संजालमा बेलाबेलामा अनावश्यक बहस र चर्चा गरिन्छ ।
जसको परिणामस्वरूप एकले अर्कोको धर्मलाई गलत भन्ने वा अपशब्द प्रयोग गर्ने गरेकाछन् । यसै सन्दर्भमा अधिकांशलाई लाग्छ इस्लाम केवल चौदह सय वर्ष अगाडि मात्र स्थापित भएको धर्म हो । इस्लाम चौदह सय वर्ष अगाडि इस्लामका धर्म प्रवर्तक हजरत मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमले फैलाउनु भएकोछ भनी केही मुस्लिम र गैर मुस्लिमको मनमा भ्रम सृजना छ । किनकि उनीहरुलाई इस्लामको ऐतिहासिक पृष्ठभूमि थाहा नै छैन् । तसर्थ सोही भ्रमलाई चिर्नका लागि आज यो लेख लेखिएको हो ।
अल्लाहले हिदायत र मार्ग दर्शनका लागि संसारमा समय समयमा विभिन्न नबी, रसूल एंव पैगम्बरलाई अवतरित गरे । जसमध्ये सबभन्दा पहिला आदम अलैहिस्सलामलाई संसारमा पठाए ।
त्यसपछि क्रमशः करिब एक लाख चौबिस हजार अम्बिया, नबी, रसूल र पैगम्बर अल्लाहको सन्देश वाहकका रुपमा संसारमा आए । उनीको उमेर पनि फरक फरक रह्यो । अनि सबभन्दा अन्तिममा अल्लाहले आफ्नो अन्तिम संदेष्टा हजरत मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमलाई पठाएर आफ्नो दीन पूर्ण गरे ।
यस लेखमा हामी ती पच्चीस नबीका बारेमा चर्चा गर्नेछौं जसको विषयमा कुरआन मजीदमा पनि स्पष्ट उल्लेख गरिएको छ । साथै मानव सभ्यताको वैज्ञानिक अवधारणा र वैज्ञानिक अनुसन्धानले जीवाश्म, पुरातात्त्विक प्रमाण, आनुवंशिक अध्ययन र अन्य प्रमाणका आधारमा मानवको विकासक्रम अध्ययनको परिणाम अनुसार मानव इतिहासको शुरुआतको बारेमा पनि जानकारी सहित चर्चा गर्नेछौं । जसले गर्दा मानव सभ्यताको इतिहास र इस्लाम अर्थात ऐकेश्वरवादको ऐतिहासिक पृष्ठभूमि र शुरुआतको बारेमा स्पष्ट बुझाइ साझा हुनेछ ।
अतः इस्लामिक मान्यता अनुसार मानव इतिहासको सुरुवात हजरत आदम अलैहिस्सलामबाट भयो । इस्लामिक मुल्यमान्यता अनुसार उहाँ नै पहिलो मानव तथा नबी हुन् र अल्लाहले उहाँलाई वस्तुहरुको बारेमा ज्ञान प्रदान गर्नुभयो । त्यसपछि हजरत इद्रिस अलैहिस्सलामलाई सिलाई र लेखन सीप दिएर पठाए ।
हजरत नूह अलैहिस्सलाम, हजरत हूद अलैहिस्सलाम र हजरत सालेह अलैहिस्सलामलाई आफ्ना समुदायलाई एकेश्वरवाद, सत्य र सही जीवनको शिक्षा दिन पठाउनुभयो ।हजरत नूह अलैहिस्सलामलाई काष्ठकला सीप दिएर पठाउनुभयो । जुन सीपको प्रयोग गरी उहाँले काठको जहाज निर्माण गर्नुभयो यसले कठिन समयमा ज्ञान, सीप र मेहनतको महत्त्व देखाउँछ ।
हजरत इब्राहिम अलैहिस्सलाम सत्यको खोज, तर्क र एकेश्वरवादका महान उदाहरण हुन् । उहाँपछि हजरत इस्माईल अलैहिस्सलाम, हजरत लूत अलैहिस्सलाम, हजरत इस्हाक अलैहिस्सलाम र हजरत याकूब अलैहिस्सलाम लगायतका नबीहरूले नैतिकता, धैर्य, उपासना र पारिवारिक जिम्मेवारीको शिक्षा दिनुभयो ।
हजरत यूसुफ अलैहिस्सलामले प्रशासनिक, आर्थिक योजना र खाद्य व्यवस्थापनको उत्कृष्टता स्थपित गर्नुभयो । उहाँले समृद्ध समयमा अन्न भण्डारण गरी कठिन समयमा प्रयोग गर्ने योजना बनाउन सीप सिकाउनुभयो । हजरत मूसा अलैहिस्सलाम र हजरत हारुन अलैहिस्सलामले गोठालोको काम गर्न सिकाउनु भएको थियो । हजरत दाऊद अलैहिस्सलामसंग फलामबाट कवच बनाउने विशेष क्षमता थियो। जसले समुदायलाई हस्तकला र सीपको महत्त्व सिकायो ।
हजरत सुलेमान अलैहिस्सलामलाई विशाल राज्य, प्रशासन र निर्माणको क्षमता प्रदान गरी पठाउनु भयो । हजरत अय्यूब अलैहिस्सलाम धैर्यका उदाहरण बनेर देखाउनुभयो । भने हजरत शुऐब अलैहिस्सलामले व्यापारमा इमानदारी, सही नापतौल र आर्थिक न्यायको शिक्षा दिनुभयो। हजरत इलियास अलैहिस्सलाम, हजरत अल-यसा अलैहिस्सलाम, हजरत यूनुस अलैहिस्सलाम, हजरत जकरिया अलैहिस्सलाम, हजरत यह्या अलैहिस्सलाम र हजरत ईसा अलैहिस्सलाम जस्ता नबीहरूले आ आफ्नो समुदायलाई ज्ञान, पवित्रता, धैर्य र नैतिक जीवनको शिक्षा दिनुभयो ।
अन्ततः करिब साढे चौदह सय वर्ष अघि अन्तिम पैगम्बर हजरत मुहम्मद मुस्तफा ﷺ अन्तिम नबी र रहमतल्लिल आलामीनका रूपमा आउनुभयो । उहाँले मानव समाजलाई मानवता, सत्य, न्याय, ज्ञान, श्रम, दया, इमान्दारी र नैतिक जीवनको शिक्षा दिनुभयो । हजरत मुहम्मद मुस्तफा ﷺ ले पनि बाख्राहरु चराउने गोठालोको काम र व्यापार गर्नुभयो ।
उहाँको इमानदारी र विश्वसनीयताको गवाही त्यतिबेलाका गैर मुस्लिमले पनि दिन्थे । यसरी नबीहरूको इतिहास हेर्दा उहाँहरुले आध्यात्मिक शिक्षासँगै ज्ञान, सीप, श्रम, हस्तकला, प्रशासन, आर्थिक योजना, व्यापारिक इमानदारी र आत्मनिर्भरताको प्रेरणाको उदाहरण बनेर समुदाय सामु देखाउनु भयो ।
यहाँ यो कुरा बुझ्न एकदमै आवश्यक छ कि कुरआन मजीदमा नाम उल्लेख भएका नबीहरू सम्पूर्ण नबीहरूको पूर्ण सूची होइनन् । जसको बारेमा कुरआन मजीदमा अल्लाह तआला स्वयं भन्नुहुन्छ: “र केही रसूलहरू यस्ता छन्, जसको वर्णन हामीले तपाईंलाई सुनाएका छैनौँ।”
( सूरह अन्-निसा, ४:१६४)
जबकि इस्लामिक मुल्यमान्यता अनुसार मानव इतिहास आदम अलैहिस्सलामबाट सुरु भएको हो । अनि मानव सभ्यताको विकास यात्राले माथि उल्लेख गरिएका नबी र तिनका ज्ञान, सीप, कृषि, व्यापार, कला, भाषा र सामाजिक संरचनाले क्रमशः परिवार, समुदाय र सभ्यताको रूप लियो । पृथ्वीमा जीवनयापन गर्दै ज्ञान, सीप, कृषि, व्यापार, कला, भाषा र सामाजिक संरचनाको विकास गर्दै गयो ।
विभिन्न समयमा विभिन्न समुदायहरू अस्तित्वमा आए र उनीहरूको मार्गदर्शन गरी सामाजिक संरचनाको लागि अल्लाहले ती ज्ञान, सीप, कृषि, व्यापार, कला, भाषा र गर्नका लागि एक लाख चौबिस हजार (१,२४,०००) आफ्नो नबी तथा रसूलहरू पठाउनुभयो । ती नबी र रसूलहरुको सीप र व्यापार आदि बारे माथि उल्लेख गरिएकोछ उमेरको कुरा गर्ने हो भने फरक फरक कालखण्डमा आएका नबी र रसूलका उमेर पनि फरक फरक छन् अनि एकै समयमा एक भन्दा बढी नबी पनि रहे जस्तै: हजरत मूसा अलैहिस्सलाम र हजरत हारून अलैहिस्सलाम, हजरत इब्राहिम अलैहिस्सलाम र हजरत इस्माईल अलैहिस्सलाम, हजरत याकूब अलैहिस्सलाम र हजरत यूसूफ अलैहिस्सलाम तसर्थ उनीहरुको उमेर र कार्यकाल संगै जोडिन्छ ।
अब यदि एक नबीको औसत उमेर अन्तिम पैगम्बर हजरत मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमको उमेर जति अर्थात ६३ वर्ष मात्र राखेर गुणा गर्ने हो भने १२४००० नबी बराबर ७८ लाख १२ हजार वर्ष आउँछ जसले मानव सभ्यता संगसंगै जोडिएको इस्लाम धर्म र ऐकेश्वरवादको प्राचीनता प्रमाणित हुन्छ ।
वैज्ञानिक तवरले मानव इतिहास
अब वैज्ञानिक तवरले मानव इतिहासलाई हेर्ने हो भने वैज्ञानिक अनुसन्धानले जीवाश्म, पुरातात्त्विक प्रमाण, आनुवंशिक अध्ययन र अन्य प्रमाणका आधारमा मानवको विकासक्रम अध्ययन गर्छ । आधुनिक मानव अर्थात् Homo sapiens का सबैभन्दा पुराना ज्ञात जीवाश्महरू उत्तर अफ्रिकाको मोरक्कोमा भेटिएका छन्, जुन करिब ३ लाख १५ हजार वर्ष पुराना मानिन्छन्। वैज्ञानिक अध्ययनअनुसार मानिस र आजका अन्य महान वानरहरूको साझा पूर्वजबाट उनीहरूका वंशीय शाखा करिब ६०–७० लाख वर्षअघि अलग हुँदै गएका थिए। अनि लिखितमा मानव इतिहास केवल ६ हजार (६०००) वर्ष पुरानो मात्र भेटिएको छ । (स्रोत: गुगल)
निष्कर्ष
इस्लामिक मान्यता अनुसार मानव इतिहास र मानव सभ्यताको विकासका लागि अल्लाहले एक लाख चौबिस हजार अम्बिया पठाए । जस अनुसार करिब करिब ७० लाख वर्ष अघि देखि ऐकेश्वरवादको ऐतिहासिक पृष्ठभूमि प्रमाणित हुन्छ र वैज्ञानिक विश्लेषण अनुसार अनुमानित ६०–७० लाख वर्षअघि नै मानव सभ्यताको विकास भएको देखिन्छ ।
। अनि सबभन्दा अन्तिममा हजरत मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लम आउनु भयो उहाँलाई साढे चौदह सय वर्ष भयो अनि एक लाख चौबिस हजार अम्बियाले त्यसभन्दा पहिला ऐकेश्वरवादको सन्देश दिन आइसकेको कुरा माथि उल्लेख गणितीय विश्लेषणले पनि इस्लामको ऐतिहासिक पृष्ठभूमिलाई प्रष्ट पारेको छ ।
तसर्थ हामीले बुझ्न जरुरी छ कि इस्लामको शुरुआत चौदह सय वर्ष अगाडि मात्र स्थापित भएको होईन् । चौदह सय वर्ष अगाडि त एक लाख चौबिस हजार अम्बिया नबी अवतरित भइसकेपछि इस्लामका अन्तिम पैगम्बर हजरत मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमको आगमन पश्चात अब नबी र रसूल अवतरित नहुने अल्लाहको सन्देशले पूर्णता पाएको हो ।