काठमाडौं । भारतका चर्चित युट्युबर ध्रुव राठी पक्राउ परेका छन् । ककरोच जनता पार्टीको विरोध आह्वानका बीच शनिबार बिहान उनलाई प्रहरीले हिरासतमा लिएको हो ।
ध्रुव राठीका नजिकका साथी र गुरुग्राम प्रहरीले उनलाई हिरासतमा लिएको पुष्टि गरेको बीबीसीले जनाएको छ । राठीलाई गुरुग्रामको सेक्टर ५६ बाट हिरासतमा लिइएको थियो ।
शुक्रबार अबेर साँझ, ध्रुव राठीले सामाजिक सञ्जालमा एउटा रिल पोस्ट गरेका थिए । भिडियोमा, उनी इन्डिया गेट अगाडि हिँडिरहेको देखिन्थ्यो ।
भिडियोमा ध्रुव राठीले भनेका थिए, “म दिल्ली आइपुगेको छु । मैले प्रधानमन्त्रीले ५० भन्दा बढी मेट्रो स्टेशनहरू बन्द गर्नुभएको मैले देखेँ । धेरै रेल र बस सेवा रद्द गरिएका छन् । विरोध प्रदर्शनका कारण उनीहरूले दिल्लीलाई लकडाउनमा राखेका छन् ।”
उनले अगाडि भने, “मोदीजी के गर्दै हुनुहुन्छ मैले बुझिन । एकातिर, तपाईंको आईटी सेलले हाम्रो विरोधमा कुनै पनि भीड आउने छैन भनिरहेको छ । यदि, भीड हुने छैन भने, तपाईं यो सबै किन गर्दै हुनुहुन्छ ? मलाई लाग्छ तपाईं डराउनुभएको छ । वास्तवमा, सम्पूर्ण जनता जागिसकेका छन् ।”
यसैबीच, दिल्ली प्रहरीले प्रदर्शनमा सामेल हुन भेला भएका धेरै प्रदर्शनकारीहरूलाई पनि पक्राउ गरेको छ ।