काठमाडौं । आचरण विपरीतको काम गरेको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ ।
अर्का एआईजी अञ्जनी कुमार पोखरेल नेतृत्वको एक सदस्यीय छानबिन समितिले सशस्त्र प्रहरी नियमावलीको दफा ११३ अनुसार कारबाही सिफारिस गरेको हो ।
उक्त दफामा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ । त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । त्यसैले अब गृहमन्त्री सुधन गुरुङले आवश्यक निर्णय गर्न सक्नेछन् ।
दाहालमाथि झापा घर भएका अर्का बिचौलियासँग पनि कनेक्सन देखिएको र गोप्य सूचनाहरु चुहाएको आरोप लगाइएको छ । संवेदनशील सूचना चुहाएको भन्दै दाहाललाई गृह मन्त्रालयले १९ असोजमा पदबाट निलम्बन गरेको थियो । सोही दिन छानबिन समिति गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही वैशाख २७ गते राति १२ बजेबाट उनी अनिवार्य अवकाशमा जाँदै थिए ।