काठमाडौं । दशैंको बेला उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन काठमाडौँ उपत्यकामा जुनसुकै कम्पनीको खाली सिलिन्डर साटेर ग्यास लिन पाउने व्यवस्था गर्न लागिएको छ । यसका लागि उपभोक्ताले अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।
नेपाल आयल निगम, ग्यास उद्योगी, विक्रेता र सुरक्षा निकायको समन्वयमा यस्तो व्यवस्था गर्न लागिएको निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बताए । कम्पनी फरक परेकै कारण ग्यास नपाउने अवस्था अन्त्य गरी उपभोक्तालाई राहत दिन उद्योगीहरूलाई आग्रह गरिएको उनले जानकारी दिए ।
नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष तथा उद्योगी शिवप्रसाद घिमिरेका अनुसार उपत्यकाका १५ देखि २० वटा मुख्य स्थानमा संयुक्त बिक्री काउन्टर सञ्चालन गर्ने तयारी छ ।
यो सुविधा वास्तविक उपभोक्ताका लागि मात्र हुनेछ । ग्यास लिन आउने उपभोक्ताको नागरिकता वा अन्य परिचय खुल्ने कागजातको प्रतिलिपि र मोबाइल नम्बर लिएर सिलिन्डर साट्ने व्यवस्था गरिने घिमिरेले बताए । संकलन भएका फरक कम्पनीका सिलिन्डर उद्योगीहरूले आपसी समन्वयमा व्यवस्थापन गर्नेछन् ।
आयल निगमका अनुसार सिलिन्डर साट्ने स्थानको टुंगो लागेपछि एक–दुई दिनभित्र औपचारिक सूचना जारी गरिनेछ । उपभोक्ताले डिलरबाटै जुनसुकै कम्पनीको सिलिन्डर साट्न पाउने व्यवस्था भए अझ सहज हुने निगमको भनाइ छ ।
दसैँमा उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरिने भएकाले ग्यासको खपत करिब ४० प्रतिशत घट्ने अनुमान छ । तर, एउटै सिलिन्डर भएका उपभोक्तालाई कम्पनी फरक परेका कारण ग्यास लिन समस्या नहोस् भन्ने उद्देश्यले यो व्यवस्था गर्न लागिएको हो ।