• आश्विन २२ २०८३, बिहीबार

फ्रान्समा भएकाे प्रदर्शनका लागि मुस्लिममाथि ट्रम्पले लगाए गम्भीर आराेप

आश्विन २१ २०८३, बुधबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्समा जारी प्रदर्शनलाई अनियन्त्रित सामूहिक आप्रवासन र इस्लामसँग जोड्दै फ्रान्समाथि कब्जा गर्ने प्रयास भएको बताएका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा फ्रान्समा भइरहेको प्रदर्शन विद्यालयको विषय मात्र नभई इस्लाम र अनियन्त्रित बसाइँसराइसँग सम्बन्धित रहेको दाबी गरेका छन् ।

फ्रान्सेली उच्च माध्यमिक विद्यालयका विद्यार्थीले शिक्षक, अभाव, कक्षाकोठामा अत्यधिक भीड, कमजोर पूर्वाधार र स्रोतसाधनको कमीको विरोधमा प्रदर्शन सुरु गरेका थिए । प्रदर्शन पेरिससहित मार्से, लियोन, लिल र स्ट्रासबर्गलगायत सहरमा फैलिएको छ । केही स्थानमा विद्यालयका प्रवेशद्वार बन्द गरिएका छन् । प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले अश्रुग्यास प्रयोग गरेको छ । सवारीसाधनमा आगजनीका घटनासमेत भएका छन् ।
फ्रान्सेली गृह मन्त्रालयका अनुसार मंगलबार देशभर दुई लाख ५० हजारभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भएका थिए । आयोजकहरूले भने सहभागीको संख्या चार लाखभन्दा बढी रहेको दाबी गरेका छन् । प्रदर्शनको मुख्य माग शिक्षा प्रणालीमा सुधार भए पनि हिंसाका घटनापछि यसले राजनीतिक बहसलाई थप तीव्र बनाएको छ ।
ट्रम्पले यस घटनालाई युरोपको बसाइँसराइ नीतिसँग जोड्दै आलोचना गरेका हुन् । उनी यसअघि पनि युरोपेली देशहरूलाई आप्रवासन नियन्त्रण गर्न कडा नीति अपनाउन आग्रह गर्दै आएका छन् ।