• आश्विन २२ २०८३, बिहीबार

इजरेल पठाइदिने भन्दै करोडौं ठग्ने चौलागाईंसहित ४ जना विरूद्द विरुद्ध जाहेरी दिन आग्रह

आश्विन २१ २०८३, बुधबार

काठमाडौं । इजरायलमा केयरगिभर रोजगारीका लागि पठाइदिने प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी भएको घटना सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पीडितहरूलाई पनि सम्पर्कमा आई जाहेरी दर्ता गर्न आह्वान गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (हेलो सरकार शाखा) र पीडितहरूको उजुरीका आधारमा सीआईबीले रामेछापको सुनापती गाउँपालिका–१ का ५९ वर्षीय भरत प्रसाद चौलागाईंसहित चार जनालाई पक्राउ गरी अनुसन्धान बढाइरहेको छ ।

पक्राउ परेका व्यक्तिहरूमाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको सीआईबीले बुधबार जनाएको छ ।

सीआईबीका अनुसार नेपाल सरकार र इजरायल सरकारबीच भएको ‘जी टु जी’ (सरकार-सरकार) सम्झौताअनुसार सन् २०२४ मा सञ्चालित केयरगिभर परीक्षा उत्तीर्ण भई प्रतीक्षा सूची (होल्ड) मा रहेका परीक्षार्थीहरूलाई चौलागाईंलगायतको समूहले निशाना बनाएको थियो।

कुल ३ हजार ४६१ जना उत्तीर्णमध्ये प्रतीक्षा सूचीमा रहेका १ हजार १५२ जनामध्ये पहिलो चरणमा १५६ जनालाई मन्त्रिपरिषद् (क्याबिनेट) बाट विशेष निर्णय गराएर तत्काल इजरायल पठाइदिने झुट्टा आश्वासन उनीहरूले दिएका थिए।

आफूहरूको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग प्रत्यक्ष चिनजान रहेको दाबी गर्दै गिरोहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको फर्जी कागजात समेत तयार पारी देखाएको खुलेको सीआईबीको भनाइ छ।

वैदेशिक रोजगारीको तीव्र चाहना र अन्योलमा रहेका युवाहरूको बाध्यताको फाइदा उठाउँदै उक्त समूहले हालसम्म पीडितहरूबाट २ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम असुलिसकेको अनुसन्धानबाट खुलेको सीआईबीको भनाइ छ ।

पक्राउ परेका चौलागाईंसहित चारै जनालाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ। यस घटनामा विभिन्न किसिमको भ्रम वा प्रलोभनमा परी उक्त अभियुक्तहरूबाट ठगिएका अन्य पीडितहरूलाई पनि यथाशीघ्र ब्यूरोमा उपस्थित भई जाहेरी दरखास्त दिन सीआईबीले अनुरोध गरेको हो ।