काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको समेत प्रभाव रहेको छ। जसका कारण आगामी तीन दिन देशका विभिन्न भू–भागमा बदली, वर्षा, मेघगर्जनसहित चट्याङ, हावाहुरी तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले काठमाडौं उपत्यकाकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि साधारणतया बदली तथा बाँकी तराई भू–भागमा आंशिक बदली रहनेछ।
हिमाली भू–भागका थोरै स्थान तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति सुदूरपश्चिम प्रदेशका सबै भू–भाग तथा देशका बाँकी हिमाली र पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। तराई भू–भागमा आंशिक बदली रहनेछ भने बिहानतिर हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्नेछ।