• आश्विन २० २०८३, मंगलवार

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता,७ हजार ११४ मतदाता

आश्विन २० २०८३, मंगलवार

काठमाडौँ । काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न पदका लागि उम्मेदवारको दरखास्त तथा मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ ।

यस्तै, आज अपराह्न साढे ४ बजे उम्मेदवारको नामावली प्रकाशन, अपराह्न साढे ४ देखि साँझ साढे ५ बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध तथा बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ । आज निर्वाचन प्रक्रियासँगै समानान्तर रूपमा दिनभरि बन्दसत्र पनि चल्ने।
यसैगरी, असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्यसचिव कटुवालले जानकारी दिए ।
मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवन गरी तीन ठाउँमा हुनेछ । बागमती प्रदेशका लागि सभागृह र गण्डकी तथा लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवनलाई मतदान स्थल तोकिएको छ । यस्तै, कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुलामञ्चलाई मतदान स्थल बनाउने तय भएको छ ।