काठमाडौं । वर्तमान सरकार गठन भएयताको ६ महिनामा ग्रामीण काठमाडौं तथा दुर्गम क्षेत्रमा ३५ किलोमिटर बाटो कालोपत्र भएको विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराएको वर्तमान सरकारको पहिलो ६ महिनाको उपलब्धि सारांशमा यस्तो विवरण छ ।
यसको बुँदा नम्बर ६ मा पूर्वाधार, ऊर्जा तथा कृषि विकाससँग सम्बन्धित विषय छ ।
यातायात तथा भवन पूर्वाधार अन्तर्गत बाटो कालोपत्रको विषय छ । जहाँ भनिएको छ, ‘ग्रामीण काठमाडाैं तथा दुर्गम क्षेत्रमा ३५.१६ किमी ग्रामीण बाटो कालोपत्र, १५ वटा सडक पुल र ४९ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरिएको छ।’
नागढुंगा सुरुङमार्ग परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको विषय पनि यसमा समावेश छ ।
उक्त विवरणअनुसार काठमाडौँ–तराई/मधेश द्रुतमार्गको ५०.०२ प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने महादेवटार सुरुङमार्गको ब्रेक थ्रु सम्पन्न भएको छ ।
यसका साथै, आन्दोलनमा क्षति पुगेका १३३ वटा सरकारी भवनहरूको मर्मत तथा प्रबलीकरण सम्पन्न गरिएको जनाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ अन्तर्गत कुल विद्युत जडित क्षमता ४.२५८ मेगावाट पुगेको छ जनाइएको छ । यसमा पछिल्लो ६ महिनाको अवधिमा १६१ मे.वा. थप भएको उल्लेख छ ।
सार्वजनिक विवरणअनुसार चालु आर्थिक वर्षमा एक हजार १९६ गिगावाट घण्टा विद्युत निर्यात गरी १० अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरिएको छ ।
६ महिनाको अवधिमा दुई हजार ९४८ हेक्टर थप जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको उल्लेख छ ।
कृषि तथा वन क्षेत्र अन्तर्गत उखु उत्पादक ६५ हजार ६०० कृषकहरुलाई २ अर्ब १७ करोडभन्दा बढी प्रोत्साहन अनुदान वितरण गरिएको उल्लेख छ ।
विवरणअनुसार बाली तथा पशुधन बीमा प्रिमियममा १ अर्ब २४ करोड अनुदान उपलब्ध गराइएको छ । २ लाख ५८ हजार मेट्रिक टन रासायनिक मल बिक्री वितरण गरिएको छ ।
यस अवधिमा २६ लाख ७७ हजारभन्दा बढी किसानहरू सूचीकरण प्रणालीमा दर्ता भएका छन् ।
कार्बन व्यापारमार्फत विश्व बैंकबाट ९.४ मिलियन अमेरिकी डलर (रु. एक अर्ब ३४ करोड) वन विकास कोषमा प्राप्त भएको छ ।