नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा भएको यात्रुवाहक बस दुर्घटनाका सबै मृतकहरूको पहिचान खुलेको छ। यसअघि एक जनाको पहिचान नहुँदा ५ जनाको मात्र सनाखत भएको थियो। प्रहरीका अनुसार हाल पहिचानमा आएका मृतक बसका चालक रहेका छन् ।
यससँगै उक्त बस दुर्घटनामा परेर मृत्युहुनेहरुमा बाँकेका बस चालक ३६ वर्षीय सुरेश बि.सी., जाजरकोटका ५० वर्षीय निर्जुङ खत्री, बाँके कोहलपुरका ३२ वर्षीय दीपेन्द्र के.सी. र ५५ वर्षीय एकेन्द्रराज रेग्मी, बाजुराका ६५ वर्षीय नरेन्द्रराज गिरी तथा नेपालगञ्जका २२ वर्षीय कृष कनौजिया रहेका छन् । उनीहरुसबैको सनाखत भइसकेको प्रहरीले जनाएको छ ।
नेपालगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस बिहान करिब ०४:०० बजे अनियन्त्रित भई सडकको नालामा पल्टिदा दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार कोहलपुरबाट काठमाडौंका लागि छुटेको बस पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोड नजिकै पूर्व–पश्चिम राजमार्गमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो । उक्त बसमा चालक सहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएका छन् भने २ जना सकुशल रहेका छन् ।
दुर्घटनामा घाइते भएका १० जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ। घाइतेमध्ये बाँकेका अस्लाम भगवानको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज पठाइएको (रिफर) गरिएको छ।
घाइतेहरूको सूची र अवस्था:
१. अस्लाम भगवान (४८ वर्ष), नेपालगञ्ज उ.म.न.पा.-१६, बाँके – टाउकोमा चोट (गम्भीर, चितवन रिफर)
२. हरिशरण थापा (३० वर्ष), गोरखा न.पा.-९, गोरखा – अवस्था मध्यम (बोल्न सक्ने)
३. तेजेन्द्र प्रसाद भण्डारी (२८ वर्ष), मंगलसेन न.पा.-६, अछाम – भित्री चोट (अवस्था मध्यम)
४. आकृती थारु (२० वर्ष), ठाकुरबाबा न.पा.-१, बर्दिया – अनुहार, खुट्टा र कम्मरमा चोट (अवस्था मध्यम)
५. पवन बुढा (३२ वर्ष), स्वामीकार्तिक गा.पा.-५, बाजुरा – अनुहार र बायाँ हातमा चोट (अवस्था मध्यम)
६. अनोज खत्री (२९ वर्ष), कोन्ज्योसोम गा.पा.-५, ललितपुर – टाउकोमा चोट (अवस्था मध्यम)
७. लाल बहादुर कार्की (३६ वर्ष), बाँसगढी न.पा.-७, बर्दिया – कम्मर र टाउकोमा चोट (अवस्था मध्यम)
८. सञ्जय थारु (२८ वर्ष), राजापुर न.पा.-९, बर्दिया – अनुहार र दुवै हातमा चोट (अवस्था सामान्य)
९. प्रेम बम (२५ वर्ष), स्वामीकार्तिक गा.पा.-१, बाजुरा – कम्मरमा चोट (अवस्था सामान्य)
१०. अनिल बुढाथोकी (२१ वर्ष), वनगाड कुपिण्डे न.पा.-१, सल्यान – बायाँ हातमा चोट (अवस्था सामान्य)
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।