काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको प्रथम संघीय परिषद् बैठक काठमाडौंमा सम्पन्न भएको छ।

महासंघको नवौं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको संस्थागत संरचना, कार्ययोजना तथा भावी रणनीतिका विषयमा बैठकमा छलफल गरिएको थियो।

बैठकको उद्घाटन सत्रमा प्रमुख अतिथि संस्कृतिविद् तथा प्राध्यापक डा. चुन्दा बज्राचार्यले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आदिवासी महिलाहरूलाई राज्यका विभिन्न तहमा नेतृत्वदायी भूमिकामा पुग्न सक्रिय हुन आग्रह गरिन्।

उनले आगामी प्रदेश निर्वाचनमा आदिवासी महिलाहरूले समेत सक्रिय सहभागिता जनाउँदै नेतृत्वमा पुग्नुपर्नेमा जोड दिइन्। आदिवासी भाषा, धर्म, संस्कृति तथा सम्पदा संरक्षणका लागि राज्यलाई निरन्तर खबरदारी गर्न सके मात्र आदिवासी समुदायको पहिचान र अस्तित्व जोगाउन सकिने उनको भनाइ थियो।
बज्राचार्यले आदिवासी महिलाहरू महिला संस्थामा मात्र सीमित नभई आदिवासी जनजाति महासंघको नेतृत्वमा समेत आउनुपर्ने बताउँदै त्यसका लागि महिलाहरूले आफ्नो दक्षता, क्षमता र नेतृत्व विकास गर्नुपर्ने धारणा राखिन्। आदिवासी समुदायको पहिचानको महत्वपूर्ण आधार भाषा भएकाले सबै आदिवासी समुदायले आफ्नो भाषा संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो।
कार्यक्रममा महासंघकी पूर्व केन्द्रीय अध्यक्ष चन्द्रकला गुरुङले नवौं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै संस्थालाई राज्यका हरेक तह र तप्कासम्म पुर्याउन आदिवासी महिलाहरू एकजुट भएर अघि बढ्नुपर्ने बताइन्।

त्यसैगरी अधिवक्ता भीम राईले आदिवासी समुदायको पहिचान सुनिश्चित नभएसम्म आदिवासी महिलाको सम्मानजनक प्रतिनिधित्व सम्भव नहुने बताए। उनले आदिवासी महिलाहरूको प्रमुख चुनौती पहिचान र अधिकार रहेको उल्लेख गर्दै त्यसलाई कानुनी रूपमा सुनिश्चित गर्न आदिवासी समुदाय एकजुट भई राज्यलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए।

समाजशास्त्री तथा आदिवासी अभियन्ता डा. कृष्णबहादुर भट्टचनले विश्वभरका आदिवासी आन्दोलनमा आदिवासी महिलाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नेपालमा पनि आदिवासी महिलाकै नेतृत्वमा आदिवासी आन्दोलन अघि बढ्नुपर्ने धारणा राखे।

उनले नेपालमा पछिल्लो समय देखिएका प्राकृतिक विपत्तिका घटनामा आदिवासी समुदायको जीवन, अस्तित्व र थातथलोमा समेत चुनौती थपिएको बताए। देश विकासका नाममा राज्यले आदिवासी समुदायको पहिचान, अस्तित्व, थातथलो तथा सम्पदामाथि असर पार्ने काम भइरहेको उनको आरोप थियो।
भट्टचनले नयाँ कार्यसमितिले संस्थालाई गैरसरकारी संस्था (एनजीओ) केन्द्रित नभई अधिकारमुखी बनाउँदै लैजानुपर्ने सुझाव दिए। साथै, आदिवासी महिलाको पहिचान र एकताको प्रतीकका रूपमा आफ्नै झण्डा निर्माण गर्नुपर्ने धारणा पनि उनले राखे।

महासंघकी अध्यक्ष शोभा सुनुवारले प्रथम संघीय परिषद् बैठकमा महासंघको ऐतिहासिक पृष्ठभूमि र संस्थाको विकासक्रमबारे चर्चा गर्दै संस्थामा लामो समय योगदान पुर्याएका अग्रजहरूलाई स्मरण गरिन्।

उनले आदिवासी महिलाको हकहित, अधिकार र सशक्तीकरणका लागि राष्ट्रियस्तरको छाता संस्थाका रूपमा महासंघ स्थापना भएको बताइन्। संस्थालाई वर्तमान अवस्थामा ल्याउन आदिवासी महिलाहरूले आफ्ना अधिकारका लागि विभिन्न समयमा आन्दोलन र राज्यलाई खबरदारी गर्दै आएको उनको भनाइ थियो।
अध्यक्ष सुनुवारले राज्यले लामो समयदेखि आदिवासी समुदायमाथि विभेद गर्दै आएको उल्लेख गर्दै गणतन्त्र स्थापना भइसकेपछि पनि अधिकारका लागि आन्दोलन र खबरदारी गर्नुपर्ने अवस्था रहेको बताइन्।

उनले राज्यका हरेक तह र तप्कामा आदिवासी महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न महिलाहरू सक्रिय भएर अघि बढ्नुपर्नेमा जोड दिइन्। नवौं महाधिवेशनबाट आफ्नो नेतृत्वमा आएको नयाँ कार्यसमितिलाई आदिवासीमुखी तथा आदिवासी महिलामैत्री बनाउँदै आदिवासी महिलाको हकहित, पहिचान, अस्तित्व, सम्पदा, भाषा तथा धर्मको संरक्षण र प्रवर्द्धनमा केन्द्रित गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।

बैठकमा संस्थागत कार्ययोजना तथा भावी रणनीतिका विषयमा छलफल गरी आवश्यक निर्णयसमेत गरिएको महासंघले जनाएको छ।

बैठकको अध्यक्षता महासंघकी अध्यक्ष शोभा सुनुवारले गरेकी थिइन् भने महासचिव धनकुमारी रानामगरले सहजीकरण गरेकी थिइन्। कार्यक्रममा महासंघकी निवर्तमान अध्यक्ष ङिमी शेर्पा, अधिवक्ता शान्ति कुमारी राई लगायत पदाधिकारी तथा सदस्यहरुले पनि प्रथम संघीय परिषद कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । Photo by Roman Budha Magar



















