अमेरिकामा बसोबास गर्ने मगर समुदायले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ३० लाख रुपैयाँ भन्दा बढी सहयोग गरेको छ । मातृभूमि नेपालमा आएको भिषण बाढीका कारण बिभिन्न क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा पुर्स्थापनाको कार्यमा सहयोग होस् भन्ने उद्देश्यका साथ मगर संघ अमेरिकाले आर्थिक सहयोग संकलन अभियान संचालन गरेको थियो ।
मगर संघ अमेरिकाको केन्द्रीय कार्यालयमा सेप्टेम्बर २८, २०२६ को दिन आयोजित प्राकृतिक विपदमा परेका पिडितहरुको लागि “दिप प्रज्वलन तथा सहयोग रकम हस्तानरण कार्यक्रम २०२६” मा नेपाल सरकार प्रतिनिधि सभाका पूर्व उपसभामुख तथा बर्तमान प्रतिनिधि सभा सदस्य माननीय इन्दिरा राना मगर र नेपाल सरकार नेपाली महाबाणिज्यदुताबास न्युयोर्कका महाबाणिज्यदुत दधिराम भण्डारीको उपस्थितिमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

संस्थाको तर्फबाट मगर संघ अमेरिका केन्द्रीय समिति अध्यक्ष दिप सागर बुढा मगर र मगर संघ अमेरिका न्युयोर्क च्याप्टर अध्यक्ष रत्न सिङ गर्बुजा मगरले पुर्व उप–सभामुख राना मगर र महाबाणिज्यदुत भण्डारीलाई प्रतीकात्मक चेक हस्तातरण गरेका थिए । मगर संघ अमेरिका र यस मातहतका च्याप्टरहरुले शुभेच्छुकबाट रकम संकलन गरेका थिए ।
महाबाणिज्यदुत दधिराम भण्डारीले विपद्को दुःखद घडीमा मातृभूमिका पीडितका लागि सहयोग जुटाई राहत कोषमा योगदान पुर्याएकोमा मगर संघ अमेरिका तथा सम्पूर्ण सहयोगी दातालाई धन्यवाद दिएका थिए । नेपालमा प्राकृतिक पिपद आएको तेस्रो दिन नै न्युयोर्क महाबाणिज्यदुताबास कार्यालयमा एक कार्यक्रम आयोजना गरेर सबै नेपाली संघ संस्थालाई आर्थिक सहयोग जुटाउन अपिल गरेको स्मरण गर्दै मगर संघ अमेरिकाले ठुलो आर्थिक संकलन गरेर मातृभूमिको पिडामा मल्हम लाउने काम गरेकोमा कृतज्ञाता व्यक्त गरे ।
यसैगरी माननीय इन्दिरा राना मगरले यो अकल्पनीय प्राकृतिक विपद्ले अरबौं अरबको धनजनाको क्षति भएको र राहत तथा पुर्स्थापनाको कार्यमा मगर संघ अमेरिकाले गरेको आर्थिक सहयोग प्रति आभार प्रकट गरेका थिए । समारोहलाई सम्बोधन गर्दै बाढीपछि सहयोग गर्ने, नेपालप्रति सद्भाव राख्ने सबैलाई धन्यवाद दिए । यस्तो सहयोगले सरकारको राहत तथा पुनःस्थापना अभियानमा महत्त्वपूर्ण टेवा पुग्ने उल्लेख गर्दै उनले सहयोग रकम जिम्मेवार र उचित ढंगले परिचालन गरिने बताए ।
मगर संघ अमेरिका केन्द्रीय समिति अध्यक्ष दिप सागर बुढा मगरले मगर संघ अमेरिकाको स्थापना कालदेखि नै मातृभूमि नेपालमा आइपरेका हरेक बिपदको समयमा प्रभावित नागरिकको साथमा उभिएर लाखौं लाख आर्थिक सहयोग गरेको स्मरण भविष्यमा पनि यस्तो सहयोग निरन्तर रहने जानकारी गराए । अभियानमा सहयोग गर्ने सम्पूर्ण अमेरिका बासी मगरहरु प्रति आभार व्यक्त गर्दै बाढीपीडित परिवारले यथाशीघ्र राहत र पुनःस्थापनाको अवसर पाउनुपर्नेमा जोड दिए ।
अमेरिका भर छरिएर रहेका नेपाली र नेपाली मुलका सम्पुर्ण मगरहरुलाई मगर संघ अमेरिकको एउटै छातामुनी गोल्बद्व गरेर आपसी भेटघाट सहयोग आदानप्रदान लगायत बिबिधतामा एकता रहेका मगरहरुको भाषा, भेष, संस्कार संस्कृति र रितिरिवाज तथा परम्पराहरुलाई अमेरिकामा संरक्षण र सम्बर्द्वन गर्दै अमेरिका मै रहेका अन्य नेपाली समुदायहरु संग समन्वय र सहकार्य गर्ने उद्देश्यका साथ मगर संघ अमेरिकाको स्थापना सन २००४ मार्च २८ को दिन न्युयोर्कमा गरिएको थियो । हाल मगर संघ अमेरिका केन्द्रीय समिति र यस मातहत अमेरिकाको १२ राज्यमा ९ वटा च्याप्टर कमिटी रहेको छ आयोजकले जनाएको छ ।
