• आश्विन १२ २०८३, सोमबार

म्याग्दीको गिवाङमा पहिरोमा पुरिएका दुई शव फेला

आश्विन ११ २०८३, आईतवार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा आइतबार पहिरोमा पुरिएर ज्यान गुमाएका दुई जनाको शव भेटिएको छ । गिवाङकी ७५ वर्षीया सिउकुमारी गर्बुजा र ५६ वर्षीया दोमाया गर्बुजाको शव पहिरोमा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पुष्टि गरेका छन् ।

यसैगरी अन्नपूर्ण गाउँपालिका–३ दानाको फगाममा पहिरोमा फसेका दुई जनाको जीवितै उद्धार भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाली सेनाको हेलिकप्टरमा गएका सुरक्षाकर्मीहरूको टोलीले फगामको पहिरोमा फसेका दुई जनालाई सकुशल उद्धार गरेर बेनी ल्याउँदै गरेका आचार्यले बताए ।

आइतबारको पहिरोमा परि म्याग्दीमा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । प्रहरी नायव उपरीक्षक राजन कार्कीका अनुसार बेनी नगरपालिका ३ भकिम्लीको छेपारेमा ३६ वर्षीया कुमारी वली विकको पहिरोमा परि मृत्यु भएको छ ।

मालिका गाउँपालिका–३ औलामा पहिरोमा पुरिएका एक जनाको उद्धार भएको र दुई जनाको खोजी भइरहेको उनले सुनाए । उमेर नखुलेका किरण पुनलाई अचेत अवस्थामा उद्धार गरिएको र नाम नखुलेका दुई जनाको खोजी भइरहेको उनको भनाइ छ । Phile Photo