काठमाडौं । नेपाल प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई छोडेको छ। स्रोतका अनुसार शनिबार रातिबाट प्रहरी नियन्त्रणमा रहेका जबरालाई सामान्य सोधपुछपश्चात भर्खरै छोडेको हो।
उनलाई परिवारको जिम्मा लगाइएको प्रहरीले स्रोतले जनाएको छ। प्रहरीले भन्यो,’ उहाँलाई सुरक्षित स्थानमा पठाएको छौं।’
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोली मध्यरात उनलाई घरबाट नियन्त्रणमा लिएको थियो। यस अगाडि पूर्वप्रधानन्यायाधीश जबराले पनि जेनजीबाट थ्रेट आएकाले आफूलाई सुरक्षाका लागि भन्दै राति नै प्रहरी कार्यालयमा ल्याएको दाबी गरेका थिए। नियन्त्रणमा लिएको बारे औपचारिक जानकारी प्रहरीले दिइएको छैन।
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएपछि बिना पक्राउ पूर्जी प्रहरीले मध्यराति घरबाट लगेको भन्दै सरकारको आलोचना बढेको छ। बिना कारण प्रहरी कार्यालयमा राख्न नहुनेभन्दै कानुनविद् एवं राजनीतिक दलका नेताले पनि दबाब दिएका छन्।