• आश्विन ९ २०८३, शुक्रबार

न्यूयोर्कमा आदिवासी महिलाको आवाजः ‘लैङ्गिक र आदिवासी न्यायबिना जलवायु न्याय सम्भव छैन’

आश्विन ९ २०८३, शुक्रबार

न्यूयोर्क । आदिवासी महिलाको अधिकार, अर्थपूर्ण सहभागिता र जलवायु न्यायको माग गर्दै संयुक्त राष्ट्रसंघको भवननजिक नेपाल आदिवासी जनजाति महिला महासंघ (NIWF) सँग ऐक्यबद्धता जनाइएको छ।

न्यूयोर्कको पूर्व ४७औँ सडक र दोस्रो एभिन्यू क्षेत्रमा FIWNA को टोलीले नेपाल आदिवासी जनजाति महिला महासंघसँग ऐक्यबद्धता जनाउँदै आदिवासी महिला, लैङ्गिक समानता र जलवायु न्यायका पक्षमा आवाज उठाएको हो।

सहभागीहरूले बोकेका प्लेकार्डमा “लैङ्गिक न्याय र आदिवासी न्यायबिना जलवायु न्याय सम्भव छैन” भन्ने सन्देश लेखिएको थियो। NIWF को ब्यानरमार्फत भने “सामूहिक हितका लागि आदिवासी महिलाको नेतृत्व”को आह्वान गरिएको थियो।

कार्यक्रममा आदिवासी महिलाले आफ्नो भूमि, संस्कृति र समुदायको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सन्देश दिइएको थियो। साथै, जलवायु परिवर्तनको गम्भीर प्रभाव उनीहरूले भोगिरहेकाले उनीहरूको जीवन र भविष्यलाई प्रत्यक्ष असर गर्ने नीति तथा निर्णय प्रक्रियामा उनीहरूको ज्ञान, अनुभव, आवाज र नेतृत्वलाई उचित स्थान दिनुपर्नेमा जोड दिइएको थियो।

ऐक्यबद्धता जनाउने टोलीले आदिवासी महिलाको अधिकार सुनिश्चित गर्न, निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता बढाउन र जलवायु न्यायका सवालमा उनीहरूको नेतृत्वलाई मान्यता दिनुपर्ने धारणा राखेको छ।

आदिवासी तथा लैङ्गिक न्यायलाई जलवायु न्यायबाट अलग गरेर हेर्न नसकिने सन्देशसहित सहभागीहरूले अन्तर्राष्ट्रिय समुदायको समेत ध्यानाकर्षण गराएका छन्।

“नेपालदेखि न्यूयोर्कसम्म, हाम्रा आवाजहरू एकसाथ उठिरहनेछन्,” भन्ने सन्देशसहित आदिवासी महिलाको अधिकार र न्यायका पक्षमा निरन्तर ऐक्यबद्धता जनाइने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।