• आश्विन ९ २०८३, शुक्रबार

ब्रिटिस गोर्खा र उनीहरूका वंशजको नेपाली नागरिकता निरन्तरताबारे विशेष कार्यशाला गोष्ठी हुँदै

आश्विन ९ २०८३, शुक्रबार

काठमाडौं । ब्रिटिस गोर्खा र उनीहरूका वंशजको वंशजका आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरतासम्बन्धी विषयमा विशेष कार्यशाला गोष्ठी तथा राजनीतिक एवं शैक्षिक छलफल आयोजना हुने भएको छ।

“बेलायती गोर्खा र तिनका सन्ततिहरूका लागि वंशजका आधारमा नेपाली नागरिकताको निरन्तरता” “Continuation of Nepali Citizenship by Descent for British Gurkhas and their Descendants” विषयक उक्त कार्यक्रम ब्रिटिश गोर्खाहरूका लागि नेपाली नागरिकताको निरन्तरता (CNCBG)  (Continuation of Nepali Citizenship for British Gurkhas), बेलायतको आयोजना तथा भूतपूर्व सैनिक कल्याणकारी समिति नेपालको सहसंयोजकत्वमा हुन लागेको हो।

कार्यशाला गोष्ठीआगामी आइतबार असोज ११ गते २०८३, तदनुसार २७ सेप्टेम्बर २०२६, बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म ललितपुरको कुपण्डोलस्थित होटल हिमालयको सभाहलमा कार्यक्रम आयोजना गरिने जनाइएको छ।

ब्रिटिस गोर्खा र उनीहरूका वंशजको नेपाली नागरिकताको निरन्तरतासँग सम्बन्धित विषयमा विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवी, प्राध्यापक, कानुनी विज्ञ, सञ्चारकर्मी तथा गोर्खा समुदायका प्रतिनिधिहरूबीच कार्यक्रममा विचार विमर्श हुने आयोजकले जनाएको छ।

दिनभर सञ्चालन हुने कार्यशालामा नेपाली नागरिकताको निरन्तरतासँग जोडिएका राजनीतिक, कानुनी तथा व्यावहारिक पक्षमाथि छलफल हुने अपेक्षा गरिएको छ। विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिताले यस विषयमा साझा धारणा निर्माण तथा आगामी पहलका लागि महत्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास छ।

आयोजकका अनुसार निमन्त्रणा प्राप्त गरेका विभिन्न क्षेत्रका अतिथिहरूले आफ्ना व्यस्तता तथा अन्य कठिनाइका बाबजुद महत्वपूर्ण कार्यक्रममा सहभागी हुन सक्दो प्रयास गर्ने जानकारी दिएका छन्। त्यसैले कार्यक्रममा सरोकारवाला पक्षहरूको सम्मानजनक सहभागिता रहने र कार्यशाला सफल हुने अपेक्षा आयोजकले गरेको छ।

सिएनसिबिजि (CNCBG) बेलायतका अध्यक्ष थर्क रानाका अनुसार कार्यशालाले ब्रिटिस गोर्खा र उनीहरूका वंशजसँग सम्बन्धित नेपाली नागरिकताको निरन्तरताको विषयमा सरोकारवालाबीच गहन छलफल गर्ने अवसर प्रदान गर्नुका साथै आफूले लामो समयदेखि उठाउँदै आएको ब्रिटिस गोर्खा र उनीहरूका वंशजको नेपाली नागरिकता निरन्तरताबारे उक्त कार्यशाला गोष्ठि मार्फत निचोडमा पुग्ने विश्वास लिएको जनाएको छ ।