काठमाडौं । वर्षा र सहकालका देवता मानिँदै आएका इन्द्रको पूजा–आराधना गरी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा परम्परागत इन्द्रजात्रा पर्व मनाइएको छ । यसै शिलशिलामा काठमाडौंको टोखा नगरपालिका—९ स्थित शिव मन्दिरमा पनि विशेष कार्यक्रमको आयोजना गरी इन्द्र र भैरवको पुजाआरधणा गरिएको छ ।
गोंगबुँ भैरव संरक्षण तथा व्यवस्थापन मूल समितिको आयोजना तथा गरिमा विकास बैंक लिमिटेडको प्रायोजनमा गोंगबुँ भैरव समय बजी कार्यक्रमको आयोजना गरिएको छ ।
सो समारोहमा वर्षातका देवता इन्द्रको पुजाआजा गरी विभिन्न किसिमका परिकारहरु चढाइएको छ । उपस्थित सबैलाई परिकारहरु खुवाइन्छ ।
यो पर्वको ऐतिहासिकताको बारेमा नेवारी संस्कृतिका खोज तथा अध्ययता रत्नप्रसाद अनामणि श्रेष्ठले स्वर्ग लोकबाट इन्द्र पृथ्वीलोकमा आउँदा उनलाई बाँधेर राखिएको र सम्मानका साथ मिठो परिकार बनाएर खुवाइएको किंवदन्ती रहेको बताए । पछि इन्द्रकी आमा उनलाई खोज्न आउँदा आकाश समेत रोएको प्रसंग रहेको पनि उनले बताए ।
अत्यधिक वर्षात् पछि अब हामीलाई पानी पुग्यो भनेर संकेतको लागि पत्र पठाइएको रुपमा चंगा उडाउने गरेको पनि अध्ययता श्रेष्ठले बताए ।
गोंगबुँ भैरव संरक्षण तथा व्यवस्थापन मूल समितिका अध्यक्ष पूर्णनारायण मानन्धरले परम्परादेखि पूर्खाहरुले मान्दै आएको संस्कृतिको संरक्षणको लागि आफूहरुले आज इन्द्र जात्राको दिन समयबजी कार्यक्रम गरेको जानकारी दिए ।
नेवारी संस्कृतिको बारेमा अध्ययन गर्दै आएका अभियान्ता तथा संचारकर्मी कुमार रञ्जितले पनि वर्षातको समयमा कसैलाई पनि कुनैपनि रोगव्याधि नलागोस् भनेर कामना गर्ने पर्व नै इन्द्र जात्रा भएको बताए । एक प्रसंगमा उनले रसुवामा आएको बाढीले पुर्याएको क्षति र जलवायु परिवर्तनले संसार भर पारिरहेको नकारात्मक असरका बारेमा प्रधानमन्त्री बालेन शाहले राष्ट्र संघको महासभामा नेपालको तर्फबाट राखेको धारणा ठिक भएको बताए ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो सांस्कृतिक पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका क्षेत्रमा भव्यताका साथ मनाउने गरिन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि (इन्द्रध्वजोत्थान) औपचारिक रूपमा प्रारम्भ हुने यो जात्रा आठ दिनसम्म मनाउने प्रचलन रहेको छ । इन्द्रजात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा आज सार्वजनिक विदा पनि दिएको छ ।
सो क्रममा लिंगोको फेदमा भैरवको पूजाआजा गर्नुका साथै विभिन्न प्रकारका परम्परागत नाचगान, जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा तथा देवीदेवताको पूजा–आराधना गर्ने गरिन्छ ।
पौराणिक मान्यता अनुसार शत्रुमाथि विजय प्राप्त गरेपछि खुसीयाली मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउन थालिएको विश्वास गरिन्छ ।