काठमाडौं । त्रिशूली ३’ए’ जलविद्युत् आयोजनाको सुरुङमा नौ दिनदेखि जारी उद्धारका क्रममा शुक्रबार उद्धारकर्मी र सुरुङभित्र फसेका व्यक्तिबीच संवाद भएको छ।
उद्धार कार्यमा संलग्न टोलीका अनुसार सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ।
उद्धारकर्मीले सुरुङभित्र रहेका व्यक्तिहरूलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको जनाइएको छ।
नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्यलाई तीव्र बनाइरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा ऊर्जा विभाग प्रमुख श्रीराम न्यौपानेले उद्धारमा खटिएको नेपाली सेनाबाट सुरुङभित्र फसेकासँग प्रत्यक्ष संवाद हुनुलाई उद्धार कार्यका लागि महत्वपूर्ण र आशाजनक संकेत मानिएको छ।
न्यौपानेले बिहीबार साँझसम्म इन्जिनियरको भूमिकामा आयोजनास्थलमै रहेर खोज तथा उद्धार कार्यमा संलग्न रहेको जानकारी दिएका छन्। उनले उद्धार कार्यमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गर्दै सुरुङभित्र फसेकाहरूको सकुशल उद्धारको सुखद खबर छिट्टै प्राप्त हुने आशा व्यक्त गरेका छन्।