बेइजिङ । चीनको विदेश मन्त्रालयले भोटेकोशी बाढीको मुख्य कारण ग्लेसियर (हिमनदी) विस्फोट भएर गएको पहिरो नै रहेको विवरण सार्वजनिक गरेको छ ।
शुक्रबार बिहान ड्रोनमार्फत गरिएको निगरानीमा हिमपहिरोका कारण ठूलो विपद् निम्त्याउने बाढी गएको पत्ता लागेको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानलाई उद्धृत गर्दै चिनको सरकारी समाचार संस्था सीजीटीएनले उल्लेख गरेको छ ।
‘शुक्रबार बिहान ड्रोनमार्फत हिमालमा हिमपहिरो गएको पत्ता लागेको छ । करिब ५०,००० घनमिटर हिउँ र बरफको भग्नावशेष थुनिएर बनेको ताल (barrier lake) मा खसेको थियो,’ प्रवक्ता जियानको भनाइ उद्धृत गर्दै सीजीटीएनले लेखेको छ ।
माथिबाट खसेको बरफ पग्लिनुका साथै उक्त कृत्रिम तालको पानी पनि थपिएपछि विनाशकारी बाढी गएको चिनियाँ पक्षको निष्कर्ष छ ।
चिनियाँ र नेपाली विज्ञहरूले यो विपद् नेपालको उच्च हिमाली क्षेत्रमा ग्लेसियर (हिमनदी) पग्लिएर चिनियाँ भूभागतर्फ पहिरो खसेका कारण भएको निष्कर्ष निकालेको प्रवक्ता जियानले शुक्रबार बताएका छन् ।
विपदमा चीनतर्फ ५ जनाको मृत्यु हुनुका साथै ५५८ जना बेपत्ता रहेको उनले उल्लेख गरेका छन् ।
यद्यपि, चिनियाँ पक्षले यस्तो दाबी गरे पनि नेपालले भने आफ्नो भूभागतिरबाट ग्लेसियर विस्फोट भई हिमपहिरो गएको पुष्टि गरेको छैन ।