• भाद्र ४ २०८३, बिहीबार

अवैध सम्पतिकाे हल्ला फिँजाएर बद्नाम गर्न खाेजिएकाे भन्दै गंगा दाहालकाे चुनाैती

भाद्र ४ २०८३, बिहीबार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री गंगा दाहालले आफू र आफ्नो परिवारमाथि लगाइएका आर्थिक अनियमितताका आरोपहरूको खण्डन गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै उनले ती आरोपहरू राजनीतिक प्रतिशोध र हावादारी भ्रम मात्र भएको दाबी गरेकी हुन्।

दुबईमा ४० अर्ब रुपैयाँ रहेको र भाटभटेनीलगायत ठूला घरजग्गामा लगानी रहेको भन्ने हल्ला सत्य नभएको बताउँदै दाहालले कुनै पनि आरोप पुष्टि नभएपछि अहिले ५० करोडको अर्को अफवाह फैलाउन खोजिएको आरोप लगाएकी छन्।

आफूहरूबाट कुनै पनि आर्थिक गलत गतिविधि वा पदको दुरुपयोग नभएको र हुने पनि आश्वासन दिँदै उनले गलत गरेको पुष्टि भए जुनसुकै निकायको कारबाही भोग्न तयार रहेको स्पष्ट पारेकी छन्।

सम्पत्ति विवरण सरकारसमक्ष बुझाइसकेको उल्लेख गर्दै उनले सरकारले गर्ने जुनसुकै अनुसन्धानका लागि सहयोग रहने प्रतिबद्धता व्यक्त गरेकी छन्। छोरीको नाताले बुवालाई सहयोग गर्नु अपराध नभएको तर्क गर्दै उनले बिनाकारण र बिनागल्तीको आरोप स्वीकार्य नहुने चेतावनी दिएकी छन्।

यस्ता अफवाह फैलाउनेहरूविरुद्ध सरकारको ध्यानाकर्षण गराउँदै दाहालले सर्वसाधारणलाई कुनै पनि भ्रममा नपर्न आग्रह गरेकी छन्।