काठमाडौँ । जनआस्था साप्ताहिकको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायतका सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर आपत्ति जनाएको छ।
महासङ्घले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमको सम्पादकीय कक्षमा हातहतियारसहित प्रहरी प्रवेश गरी सञ्चार उपकरण तथा सामग्री जफत गर्नु संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको जनाएको हो।
नेपालको संविधानको धारा १९ को उपधारा २ ले कुनै समाचार, लेख, सम्पादकीय, रचना, सूचना वा अन्य सामग्री प्रकाशन वा प्रसारण गरेकै आधारमा सञ्चारमाध्यमलाई बन्द, जफत वा दर्ता खारेज गर्न तथा त्यस्तो सामग्री जफत गर्न नपाइने व्यवस्था गरेको स्मरण गराउँदै महासङ्घले उक्त घटनालाई संवैधानिक व्यवस्थाको ठाडो उल्लङ्घन भनेको छ।
समाचार स्रोतमा पहुँच राख्ने नाममा राज्य संयन्त्रबाट अपनाइएको यस्तो शैली असंवैधानिक तथा गैरकानुनी रहेको महासङ्घको ठहर छ। यसले प्रेस स्वतन्त्रतासँगै नागरिकको सूचनाको हकमासमेत प्रत्यक्ष असर पार्ने महासङ्घले जनाएको छ।
महासङ्घले नियन्त्रणमा लिइएका सञ्चार सामग्री तत्काल फिर्ता गर्न, संविधानको पूर्ण पालना गर्न तथा समाचार स्रोत र सम्पादकीय सामग्रीको गोपनीयता सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
यसैबिच महासङ्घका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको टोलीले शुक्रबार जनआस्था साप्ताहिकको कार्यालय निरीक्षण गरेको छ। टोलीले प्रहरीले नियन्त्रणमा लिएका सञ्चार सामग्री तथा त्यसबाट पत्रिकाको प्रकाशनमा परेको प्रभावबारे जानकारी लिएको महासङ्घले जनाएको छ।
महासङ्घका महासचिव रामप्रसाद दाहालले पत्रकारको सूचनाको पहुँचमा राज्य संयन्त्रको दुरुपयोग गरी गरिएको नियन्त्रणविरुद्ध उभिन स्वतन्त्रता पक्षधर नागरिक समुदायलाई आग्रह गरेका छन्।