• श्रावण २८ २०८३, बिहीबार

हिरासतमा रहेका पत्रकार श्रेष्ठलाई भेट्न नदिइएपछि भन्दै कानुन व्यवसायीद्वारा विरोध

श्रावण २८ २०८३, बिहीबार

काठमाडौँ। जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा सञ्चारकर्मी किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल बार एशोसिएशन (नेबाए), मानव अधिकार तथा जनसरोकार समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

समितिका सदस्य सचिव अधिवक्ता किरण न्यौपाने र सह–संयोजक अधिवक्ता डा. राजेन्द्र घिमिरेले विज्ञप्ति जारी गर्दै श्रेष्ठको तत्काल र निशर्त रिहाइको माग गरेका हुन्। प्रकाशित समाचारको विषयमा कुनै गुनासो वा आपत्ति भएमा प्रचलित कानुनी प्रक्रियामार्फत समाधान खोजिनुपर्ने विश्वव्यापी मान्यता नेपालले पनि अपनाउँदै आएको विज्ञप्तिमा स्मरण गराइएको छ।

समाचार लेखेकै आधारमा सञ्चारकर्मीलाई पक्राउ गरिनु, सञ्चार गृह बन्द गराइनु र परिवारका सदस्यहरूलाई मानसिक यातना दिइने जस्ता कार्य आधुनिक समयमा पटक्कै नसुहाउने समितिले उल्लेख गरेको छ। संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र पत्रकारिताको अधिकार लोकतान्त्रिक व्यवस्थाका मुख्य गहना भएकाले यसलाई कतैबाट पनि बिर्सन नहुने धारणा समितिले राखेको छ।

सञ्चारकर्मी र सञ्चारमाध्यमले कानुनी पालना गर्नुपर्ने विषयमा स्पष्ट रहँदाहात्ती पनि सरकारबाट बेलाबेलामा हुने यस्ता क्रियाकलापले चिन्तित तुल्याएको विज्ञप्तिमा जनाइएको छ।

हिरासतमै रहेको अवस्थामा श्रेष्ठका परिवार तथा कानुन व्यवसायीहरूलाई समेत भेट्न नदिएको भन्ने समाचार प्राप्त भएको भन्दै समितिले सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ। विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारकर्मी श्रेष्ठलाई तत्काल र निशर्त रिहाइ गरी त्रासदीपूर्ण वातावरणको अन्त्य गर्न माग गर्दछौँ। हिरासतमै रहेको अवस्थामा परिवार तथा कानुन व्यवसायीलाई समेत भेट्न नदिएको विषयमा सरोकार दर्शाउँदै निजलाई संविधानप्रदत्त अधिकार प्रदान गर्न सुरक्षा निकायको ध्यानाकर्षण गराउँछौँ।’

नेपालको संविधानले नै पूर्ण ग्यारेन्टी गरेको नागरिकको सुसूचित हुन पाउने हक अधिकारलाई कुनै पनि बहानाबाजीमा अङ्कुश नलगाउन समितिले सबै पक्षसँग आग्रह गरेको छ।