• श्रावण २८ २०८३, बिहीबार

रोल्पामा पहिरोले घरगोठ पुरिँदा दुईजनाको मृत्यु, १० जना बेपत्ता

श्रावण २८ २०८३, बिहीबार

रोल्पा ।  अविरल वर्षाका कारण पहिरो जाँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा १० जना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ– ५ बोटलबाराकी १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६० वर्षीय कमलबहादुर पुन मगर छन् । घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर छन् ।

प्रहरी कार्यालयका अनुसार पहिराेमा परेका ६ घरमा १० जना वेपत्ता भएकाे प्रहरीको प्रारम्भिक अनुमान छ । अहिले बेपत्ताको खोजी जारी रहेको छ ।

प्रहरी कार्यालयका अनुसार बुधबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा घर सहित गोठ पुरिएरका थिए । गए राति नै प्रहरी टोली घटनास्थलमा पुगेको थियाे ।

घटनाको थप विवरण आउन वाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसार पहिरोबाट छ घर र गोठमा क्षति पुगेको छ ।