• श्रावण २६ २०८३, मंगलवार

इरानी हत्याको धम्कीपछि ट्रम्प क्याटरिङ ट्रकमा लुकेर अर्को विमानसम्म पुगेको खुलासा

श्रावण २६ २०८३, मंगलवार

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानबाट हत्याको विश्वसनीय धम्की आएपछि गत महिना टर्कीबाट बेलायत लैजाँदा असाधारण सुरक्षा रणनीति अपनाइएको खुलासा भएको छ।

वासिङ्टन पोस्ट र द न्यूयोर्क टाइम्सका अनुसार, ह्वाइट हाउसले ट्रम्प ‘एयर फोर्स वन’मा बेलायत गएको बताइरहेका बेला उनलाई विमानस्थलमा खाना तथा अन्य सामग्री ओसार्न प्रयोग हुने क्याटरिङ ट्रकमा लुकाएर अर्को सैन्य विमानमा सारिएको थियो। यो घटना ट्रम्प विश्व नेताहरूसँग नाटो शिखर सम्मेलनमा सहभागी हुन टर्कीको अंकारामा रहेका बेला भएको हो।

टेलिभिजन क्यामेरासामु ट्रम्प पुरानो ‘एयर फोर्स वन’ विमानमा चढेको देखाइएको थियो। त्यसको केही मिनेटपछि उनलाई विमानस्थलमा खाना तथा अन्य सामग्री विमानमा पुर्‍याउन प्रयोग हुने क्याटरिङ ट्रकमार्फत गोप्य रूपमा अर्को सानो विमानमा सारिएको एक अमेरिकी अधिकारीले वासिङ्टन पोस्टलाई बताएका छन्।

अमेरिकी अधिकारीले न्यूयोर्क टाइम्ससँग पनि उक्त अभियानको पुष्टि गरेका छन्। ट्रम्पको वास्तविक स्थान पत्रकारहरू र ह्वाइट हाउसका केही कर्मचारीबाट समेत गोप्य राखिएको थियो। वासिङ्टन पोस्टका अनुसार, इरानसँग सम्बन्धित ट्रम्पमाथिको विश्वसनीय सुरक्षा धम्कीपछि यो ‘भ्रम सिर्जना गर्ने अभियान’ शुरू गरिएको थियो।
यसअघि अमेरिकी प्रशासनले ट्रम्प जुलाई ८ मा पुरानो एयर फोर्स वनबाट टर्कीबाट बेलायत गएको दाबी गरेको थियो। ट्रम्पले पनि ट्रुथ सोसलमा आफू टर्की पुगेको नयाँ विमानको सट्टा ‘पुरानो एयर फोर्स वन’ प्रयोग गर्ने बताएका थिए।

ट्रम्पलाई टर्की पुर्‍याउने नयाँ विमान कतारले उपहार दिएको बोइङ ७४७–८ थियो। नाटो सम्मेलनका लागि भएको यात्रा उक्त नयाँ विमानको पहिलो अन्तर्राष्ट्रिय यात्रा थियो। विमानमा गरिएको तीव्र स्तरोन्नतिले यसको लागत र सुरक्षाबारे प्रश्नसमेत उठाएको थियो। त्यही समयमा टर्कीसँग सीमा जोडिएको इरानसँगको तनाव बढिरहेको थियो।

अंकाराबाट प्रस्थान गर्नुअघि ट्रम्पले ट्रुथ सोसलमा ‘पुराना दिनको सम्झनाका लागि’ पुरानो, हल्का नीलो रंगको एयर फोर्स वनबाट बेलायतको आरएएफ मिल्डेनहल जाने बताएका थिए। नयाँ विमान पनि सोही सैन्य अड्डामा रोकिने र त्यहाँ तैनाथ अमेरिकी सैनिकलाई विमान अवलोकन गर्ने अवसर दिइने बताइएको थियो।

अंकारामा क्यामेरासामु पुरानो एयर फोर्स वनमा चढेपछि ट्रम्पलाई गोप्य रूपमा एयर फोर्स सी–३२ए नामक सानो विमानमा सारिएको वासिङ्टन पोस्टले जनाएको छ। पोस्टले अभियानसँग परिचित अमेरिकी अधिकारीको भनाइ तथा आफूले समीक्षा गरेको सामग्रीका आधारमा यस्तो विवरण सार्वजनिक गरेको हो।

पोस्टका अनुसार, ट्रम्पमाथिको विश्वसनीय सुरक्षा धम्कीका कारण यो अभियान सञ्चालन गरिएको थियो। यस्तै, प्रकारको अभियान सन् २००० मा पनि भएको थियो। त्यतिबेला अमेरिकी राष्ट्रपति बिल क्लिन्टन पाकिस्तान जाँदा औपचारिक एयर फोर्स वनलाई डिकायका रूपमा पठाएर आफू भने चिह्न नखुलेको कार्यकारी जेटमा पाकिस्तान पुगेका थिए ।

यसपटक ट्रम्पसँग पुरानो एयर फोर्स वनमा यात्रा गरिरहेको ठानेका पत्रकारहरूलाई विमानको प्रेस कक्षका झ्यालका पर्दा बन्द राख्न निर्देशन दिइएको थियो। पत्रकारबाहेक ह्वाइट हाउसका केही कर्मचारीले पनि राष्ट्रपति त्यही विमानमा रहेको विश्वास गरेका थिए।

पछि पत्रकारहरूले उडानका क्रममा झ्यालका पर्दा बन्द राख्नुपर्ने कारणबारे सोध्दा ट्रम्पले आफूहरू ‘सम्भवतः खतरनाक उडानमा’ रहेको बताएका थिए। उनले भनेका थिए, ‘तर यदि म गएँ भने, तिमीहरू पनि जान्छौ। हैन र ?’

ट्रम्प सवार सी–३२ए स्थानीय समयअनुसार राति करिब १०:२० बजे बेलायत पुगेको वासिङ्टन पोस्टले जनाएको छ। पुरानो एयर फोर्स वन र सञ्चारमाध्यम बोकेको विमान भने त्यसको केही मिनेटपछि मात्र बेलायत पुगेका थिए।

तर, ट्रम्पलाई सी–३२एबाट पुनः पुरानो एयर फोर्स वनमा कसरी सारियो भन्ने स्पष्ट नभएको पोस्टले जनाएको छ। बेलायत पुगेपछि भने ट्रम्प पुरानो एयर फोर्स वनबाट ओर्लिएको देखिएका थिए।

ट्रम्पसँग यात्रा गरिरहेको प्रेस समूहका अनुसार, उनले स्थानीय समयअनुसार राति १०:५६ बजे पुरानो एयर फोर्स वनको भर्‍याङबाट ओर्लिएका थिए। उनले सञ्चारकर्मीहरूतर्फ शान्तिको संकेत गरे पनि उनीहरूसँग कुरा गर्न गएनन्।

त्यसपछि उनले केही समय अमेरिकी सैनिकसँग भेटघाट गरे र कतारले उपहार दिएको नयाँ विमानतर्फ लागे। तेस्रो विमान प्रयोग गरेर गरिएको गोप्य उडानबारे प्रतिक्रिया माग्दा ह्वाइट हाउसले सञ्चार निर्देशक स्टिभ चेउङको भनाइ सार्वजनिक गरेको थियो।

उनका अनुसार, कतारले उपहार दिएको विमानमा राष्ट्रपतिको सुरक्षा सुनिश्चित गर्न उच्चस्तरीय सुरक्षा प्रोटोकल जडान गरिएको छ।

चेउङले भने, ‘राष्ट्रपतिले हालै भनेजस्तै, अमेरिकाका धेरै शत्रुहरूको निशानामा हुनुहुन्छ, र हामी ती धम्कीलाई सम्बोधन गर्न आफूसँग उपलब्ध हरेक साधन प्रयोग गर्छौं।’ वासिङ्टन पोस्टलाई पनि ह्वाइट हाउसले यही वक्तव्य दिएको थियो।