• श्रावण २४ २०८३, आईतवार

काठमाडौँका ५५ डिपोमा प्रहरी परिचालन गरेर ग्याँस वितरण

श्रावण २४ २०८३, आईतवार

काठमाडौँ । खाना पकाउने ग्याँसको अभाव भएपछि प्रहरी परिचालन गरेर ग्याँस वितरण सुरु गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले शनिवारदेखि प्रहरी परिचालन गरेर ग्याँस वितरण गर्न थालेको हो ।

काठमाडौँमा सञ्चालित ५५ वटा डिपोमा प्रहरी परिचालन गरेर ग्याँस वितरण गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले रातोपाटीलाई बताए । उनले भने, ‘शनिबार मात्रै ७ हजार ७३६ सिलिन्डर ग्याँस वितरण गरिएको छ ।’

वितरण गरिएको मध्ये ३ हजार १८९ सिलिन्डर ग्याँस सर्वसाधारण र ३ हजार ३९ सिलिन्डर ग्याँस व्यावसायिक प्रतिष्ठानलाई दिइएको छ । सुकेधारा स्थित श्री ग्याँस डिपोबाट व्यावसायिक प्रतिष्ठान र होटलहरुलाई २ हजार ८ सय सिलिन्डर ग्याँस वितरण गरिएको छ ।

टोखा स्थित जय कालिका ग्याँस डिपोबाट २३४ सिलिन्डर ग्याँस सर्वसाधारणलाई बाँडिएको एसएसपी घिमिरेले जानकारी दिए । ग्याँसको कालोबजारी रोक्न काठमाडौँ उपत्यकामा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ ।