• श्रावण २१ २०८३, बिहीबार

ड्राेन उत्पादन गर्ने ६ अमेरिकी कम्पनीलाई चीनले राख्याे कालोसूचीमा

श्रावण २१ २०८३, बिहीबार

काठमाडौं । अमेरिकाले लगाएका नयाँ व्यापारिक प्रतिबन्धहरूको जवाफस्वरूप चीनले कडा आर्थिक कदम चालेको छ । चीनले ६ अमेरिकी कम्पनीलाई कालोसूचीमा राखेको छ ।

अमेरिकातर्फ हुने ड्रोन, तिनका मुख्य पार्टपुर्जा तथा सम्बन्धित प्रविधिको निर्यातमा कडा नियन्त्रण लागु गरेको एपीले जनाएको छ । साथै, आयातित प्रिन्टर सफ्टवेयर र कार्यालयका उपकरणमाथि राष्ट्रिय सुरक्षाका दृष्टिले अनुसन्धान सुरु गरेको छ ।

अमेरिकाले चिनियाँ ड्रोनको आयातमा प्रतिबन्ध लगाउने, ४३ वटा चिनियाँ कम्पनीलाई उइगुर जबर्जस्ती श्रम रोकथामसम्बन्धी कानुनअन्तर्गत कालोसूचीमा राख्ने तथा नयाँ ट्यारिफ लागु गर्ने निर्णयको जवाफस्वरूप यी कदम चालिएको चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको छ ।

चीनका अनुसार, अमेरिकाका यी कदम दुवै देशका शीर्ष नेताबीच भएको सहमतिविपरीत छन् । यसले चीनका वैध हितमा प्रतिकूल असर पारेको छ । त्यसैले जवाफी कारबाही आवश्यक भएको उसको भनाइ छ ।

चीनले ड्रोन, तिनका मुख्य पार्टपुर्जा तथा नागरिक र सैन्य दुवै प्रयोजनमा प्रयोग हुन सक्ने प्रविधिको निर्यातलाई अब केस–बाई–केस स्वीकृतिको दायरामा ल्याएको छ । अब चीनका कुनै पनि संस्था वा व्यक्तिले कालोसूचीमा परेका अमेरिकी कम्पनीहरूसँग व्यापार, सहकार्य वा अन्य गतिविधि गर्न पाउने छैनन् ।

मे महिनामा सी चिनफिङ र डोनाल्ड ट्रम्पबीच भएको भेटवार्तापछि दुई देशबीच सम्बन्ध सुधार हुने संकेत देखिएको थियो । तर, तीन महिनामै व्यापारिक तनाव फेरि चुलिएको बताइएको छ ।

सेनादेखि प्रहरीसम्म चिनियाँ ड्रोनमा निर्भर अमेरिका
अमेरिकाको ड्रोन उद्योग चिनियाँ ड्रोन तथा तिनका पार्टपुर्जामा ७० देखि ९० प्रतिशतसम्म निर्भर रहेको बताइएको छ । अमेरिकामा प्रयोग हुने करिब ८० देखि ९० प्रतिशत व्यावसायिक ड्रोन चिनियाँ कम्पनीहरूले, विशेषगरी डीजेआईले उत्पादन गरेका हुन् ।

त्यसैगरी, अमेरिकी प्रहरी, दमकल सेवा तथा स्थानीय सुरक्षा निकायले प्रयोग गर्ने ९० देखि ९२ प्रतिशत ड्रोन पनि चिनियाँ निर्मित रहेका छन् ।

चीनले एयरफ्रेम, मोटर, क्यामेरा, स्क्रिन र रेडियो प्रणाली लगायत विश्वका करिब ९० प्रतिशत ड्रोन पार्टपुर्जाको उत्पादन नियन्त्रण गर्ने दाबी गरिएको छ । ड्रोनमा प्रयोग हुने ब्याट्रीका लागि आवश्यक रिफाइन्ड ग्रेफाइटको करिब ७० प्रतिशत तथा ड्रोन मोटरमा प्रयोग हुने चुम्बकको करिब ९० प्रतिशत चीनबाट आपूर्ति हुने बताइएको छ ।

अमेरिकामा चिनियाँ ड्रोनहरू कृषि क्षेत्रमा विषादी छर्ने, बालीको निगरानी गर्ने, रियल इस्टेट म्यापिङ तथा व्यावसायिक फोटोग्राफीजस्ता कार्यमा व्यापक रूपमा प्रयोग हुँदै आएका छन् ।

चीनको नयाँ निर्णयपछि अमेरिकाले अब हङकङ वा अन्य तेस्रो मुलुकमार्फत ड्रोनका पार्टपुर्जा आयात गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने बताइएको छ । यसका कारण ड्रोन उत्पादन तथा पार्टपुर्जाको लागत २५ देखि ३५ प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरिएको छ ।