सुनसरी । सुनसरीको देवानगञ्ज घटनामा सरकार र मृतक परिवारबिच सहमति भएको छ ।
गत श्रावण १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच २०८३ श्रावण १४ गते ६ बुँदे सहमति भएको छ। सहमतिपत्रमा मृतकका अभिभावक तथा गृहमन्त्री सुधन गुरुङको सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।
सहमतिअनुसार नेपाल सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक परिवारलाई रु. १० लाख राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। साथै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ।
यस्तै, देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गर्ने, प्रत्येक मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस यथाशीघ्र कार्यान्वयन गर्ने, तथा मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ।
