• श्रावण ५ २०८३, मंगलवार

कीर्तिपुरमा कारभित्र जलेको पुरुषको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा पठाइयाे

श्रावण ५ २०८३, मंगलवार

काठमाडौँ । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा भेटिएका एक जना पुरुषको शव निकालिएको छ । प्रहरीले शव निकालेर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।

कीर्तिपुरको ट्याङ्लाफाँट स्थित चाँदनी चोकमा मंगलबार बिहान ११ बजेर २० मिनेटमा अचानक कारमा आगलागी भएको हो ।

आगलागीमा परेर कार चालक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले रातोपाटीलाई बताए । आगलागी भएको बा.५ च ३०३८ नम्बरको कार नबिल बैंकबाट ऋण लिएर किस्तामा खरिद गरेको भेटिएको छ ।

कार धनीको पहिचान भए पनि चालक र धनी एकै हुन कि होइनन् भन्नेबारे अनुसन्धान भइरहेको एसएसपी घिमिरेले जानकारी दिए । सेतो रङ्गको किया गाडी चाँदनी चोकमा आएर रोकिएको र सुरुमा गाडीभित्रबाट सानो आगो सल्केको देखिएको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

अचानक आगो दन्किएपछि प्रहरी र स्थानीयले अग्निनियन्त्रक यन्त्रहरूको प्रयोग गरेर आगो निभाएका हुन् । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।