• असार २४ २०८३, बुधबार

प्रधानमन्त्री साहको राष्ट्रघाती अभिव्यक्तिले सीमा क्षेत्रका नागरिक भारतीयकाे चर्को दबाब खेप्न बाध्य: कांग्रेस सांसद गच्छदार

असार २४ २०८३, बुधबार

काठमाडाैं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले प्रधानमन्त्री बालेन्द्र साहको राष्ट्रघाती अभिव्यक्तिका कारण सीमापारीको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य भएको आरोप लगाएकी छिन्।

प्रतिनिधिसभाकाे बुधबार बसेकाे बैठकको शुरुमै बोल्दै उनले यस्ताे आराेप लगाएकी हुन् । नेपालले पनि भारतको सीमा मिचेको छ भनि प्रधानमन्त्री साहले अभिव्यक्ति दिएपछि सीमा क्षेत्रमा रहेका नेपालीहरुले भारतीय पक्षको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य हुनुपरेको बताइन् ।

सांसद गच्छदारले संसदलाई बेवास्ता गर्ने प्रधानमन्त्री साहलाई संसदमा आएर उक्त अभिव्यक्तिकाे बारेमा स्पष्टिकरण दिनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण समेत गराइन् । उनले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई समेत सरकारले पीडा दिएको भन्दै आक्रोश समेत व्यक्त गरेकी छिन्।

सांसद गच्छदारले वर्तमान सरकारले गरिबलाई पीडा दिएकाले पनि जनताको सरकार भन्न नमिल्ने जिकिर समेत गरिन् ।