• असार १७ २०८३, बुधबार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमै भएको इतिहासविदहरूको दाबी

असार १७ २०८३, बुधबार

राजेन्द्र न्यौपाने, १७ असार, गोरखा । राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको जन्म गोरखाको सिरानचोक गाउँपालिका–६ स्थित सिरानडाँडामा भएको इतिहासविद् तथा संस्कृतिविद् प्रा.डा.जगमान गुरुङले बताएका छन् ।

सिरानचोक गाउँपालिका–६ अमरपुरस्थित अमरसिंह थापा पार्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गहिरो ऐतिहासिक अध्ययनका आधारमा अमरसिंह थापाको जन्मस्थल सिरानचोक नै रहेको निष्कर्षमा पुगेको बताए ।

उनका अनुसार अमरसिंह थापाको जन्मस्थल सिरानचोकभित्र पर्दछ र यही क्षेत्र गोरखा दरबार जाने ऐतिहासिक मार्ग पनि हो । अमरसिंह थापा तथा उनका पिता उमराव भीमसिंह थापाको बसोबाससँग समेत यो क्षेत्र जोडिएकाले स्थानीयवासीले दुवैको शालिक निर्माण गरेको उनले उल्लेख गरे । लामो समयदेखि यो स्थान अवलोकन गर्ने इच्छा रहेको र आज पूरा भएकोमा आफूलाई खुशी लागेको उनले बताए ।

प्रा.डा. गुरुङले पृथ्वीनारायण शाहका सेनापति उमराव भीमसिंह थापाको निधनपछि अमरसिंह थापा गोरखा दरबारमा हुर्किएर सैनिक तालिम प्राप्त गरेको तथा नेपाल एकीकरण अभियानमा अतुलनीय योगदान दिएको उल्लेख गरे ।

जन्मस्थलमै पुगेर उनको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पाउँदा गौरव महसुस भएको गुरुङको भनाइ थियो । नाटककार बालकृष्ण समको ‘अमरसिंह’ नामको पुस्तकको तेस्रो हरफमा सिरानचोक जन्मस्थान उल्लेख गरिएको छ ।

नेपालको इतिहासमा ‘अमरसिंह थापा’ नामक पुस्तकमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम उपकुलपति सूर्यविक्रम ज्ञवालीले अमरसिंह थापा गोरखाको सिरानचोकमा जन्मेको र नेपाल एकीकरणमा अतुलनीय योगदान गरेको कुरा उल्लेख गरेका छन् ।
नेपाली समाजमा सद्भाव कायम गर्न आग्रह
कार्यक्रममा बोल्दै प्रा.डा.गुरुङले नेपाली समाजमा बाह्य प्रभावका कारण विभाजन बढ्दै गएको भन्दै सामाजिक सद्भाव जोगाउन सबैलाई आग्रह गरे । उनले भने, “पहिले दहीजस्तै जमेको नेपाली समाज अहिले विभाजित बनाउने प्रयास भइरहेको छ । जातीय तथा सामुदायिक नाममा एक अर्काविरुद्ध उभ्याउने प्रवृत्ति बढेको छ । यो हाम्रो आफ्नै सोचभन्दा पनि अरूले सिर्जना गरेको मानसिकता हो ।”
उनका अनुसार अमरपुर यसको उत्कृष्ट उदाहरण बनेको छ । अमरसिंह थापाको नाममा पार्क निर्माणका लागि मगर समुदायका व्यक्तिले जग्गा दान गरेका छन्, गुरुङ समुदायले पहल गरेको छ भने ब्राह्मण समुदायले समितिमा बसेर योगदान दिएको छ । “यसभन्दा ठूलो राष्ट्रिय एकताको उदाहरण अरू के हुन सक्छ ?” भन्दै उनले प्रश्न गरे ।

प्रा.डा. गुरुङले अंग्रेजसँगको युद्धका क्रममा अमरसिंह थापाले कुनै पनि लोभ वा प्रलोभनमा नपरी राष्ट्रप्रति अटल निष्ठा प्रदर्शन गरेको स्मरण गरे । उनले अमरसिंह थापा बगाले थापा वंश अन्तर्गतका थापा भएको समेत उल्लेख गरे ।

अमरपुरको ऐतिहासिक महत्व बढ्ने विश्वास
प्रा.डा.गुरुङले अमरपुर क्षेत्रको ऐतिहासिक महत्व अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने विश्वास व्यक्त गरे । नेपाली भाषा र राष्ट्रिय एकताको विकासमा मगर, गुरुङ, राई लगायतका विभिन्न समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सबैलाई राष्ट्रिय एकतामा आबद्ध हुन आग्रह गरे ।

अमरसिंह थापाको जन्मस्थल सिरानचोक भएको इतिहासविद् पन्तको दाबी
इतिहासविद् डा.दिनेशराज पन्तले आफूले विसं २०३७ सालदेखि गोरखाको इतिहास बारे अध्ययन गर्दै आएको जानकारी दिए ।
गोरखाको इतिहास सम्बन्धी चारखण्डको पुस्तक लेखिसकेको उल्लेख गर्दै उनले गोरखा जिल्लाको इतिहास करिब १,३०० वर्ष पुरानो रहेको बताए । गोरखा दरबारस्थित हनुमान भञ्ज्याङमा लिच्छविकालीन राजा द्वितीय शिवदेव र जयदेवका शिलालेख रहेको उल्लेख गर्दै गोरखा प्राचीन सभ्यता र इतिहासको केन्द्र भएको बताए ।

डा. पन्तले वडाकाजी अमरसिंह थापाको नेतृत्वमा नेपाली सेना सतलज पार गर्दै काँगडादेखि रावी नदीसम्म पुगेको स्मरण गर्दै उहाँ राष्ट्रका लागि समर्पित र लोभ–लालचबाट टाढा रहेका वीर सेनापति भएको बताए ।

उनले अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमै भएको दाबी दोहोर्याउँदै यस विषयमा अनावश्यक विवाद नगर्न आग्रह गरे । साथै, जन्मस्थलको संरक्षण र प्रवद्र्धनमा योगदान पुर्‍याउने सिरानचोक गाउँपालिकाका पूर्वअध्यक्ष राजु गुरुङ तथा अमरसिंह थापा प्रतिष्ठानप्रति धन्यवाद व्यक्त गरे ।

विशिष्ट व्यक्तित्वहरूको स्थलगत अवलोकन
राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानका संरक्षक क्याप्टेन रामेश्वर थापाको नेतृत्वमा प्रा.डा.जगमान गुरुङ, डा.दिनेशराज पन्त, पूर्वमन्त्री विक्रमबहादुर थापा, प्रतिष्ठानका अध्यक्ष गणेश थापा, महासचिव बद्रीकुमार थापा, कोषाध्यक्ष श्यामसुन्दर थापा, समाजसेवी श्यामकृष्ण तिमल्सिना, सिरानचोक गाउँपालिकाका पूर्वअध्यक्ष राजु गुरुङ लगायत काठमाडौंबाट आएका १७ जना विशिष्ट व्यक्तित्वले अमरपुरस्थित अमरसिंह थापा तथा उमराव भीमसिंह थापाको शालिक, श्रीनाथ गण र ऐतिहासिक गढीको अवलोकन गरेका थिए ।

उक्त अवसरमा “नेपाल एकीकरण अभियानका महान् सेनापति वडाकाजी वीर अमरसिंह थापाको योगदान” विषयक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रीता देवकोटा, वडा नं. ६ का अध्यक्ष प्रेमप्रसाद बस्ती, गाँखु–काठमाडौं समाजका अध्यक्ष मिलन पोखरेल, समाजसेवी हरि ढकाल, गंगा भट्ट, स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा
अमरपुरको रमणीय स्थानमा राष्ट्रिय विभूतिको शालिक स्थापना भएपछि यस क्षेत्रको ऐतिहासिक तथा धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले पार्कसम्म मोटरबाटो, खानेपानी, शौचालय र विश्रामस्थलको व्यवस्था गरिसकेको छ ।
पछिल्लो समय शहरबाट समेत यस क्षेत्रमा जग्गा खरिद गर्न आउने क्रम बढेको स्थानीयको भनाइ छ ।
कुमाउ र गडवाल क्षेत्रका भारतीय पर्यटकहरु अमरसिंह थापाको जन्मस्थल हेर्न चाहन्छन् तर यहाँ आउने बाटो राम्ररी विकास भैनसकेको हुनाले बाह्य पर्यटकहरुको अमरपुर हेर्ने चाहना हालसम्म पुरा हुन नसकेको स्थानीयहरुको भनाई छ । गोरखाको पर्यटन क्षेत्रमा अमरपुर ऐतिहासिक पर्यटनमा पहिलो गन्तव्य बन्ने कतिपयको भनाई रहेको छ ।

साउन १६ मा स्मृति दिवस
राष्ट्रिय विभूति अमरसिंह थापाको निधन भएको साउन १६ गते प्रत्यक वर्ष अमरपुरमै स्मृति दिवस मनाइँदै आएको छ । यस वर्ष पनि सोही स्थानमा कार्यक्रम आयोजना गरिने स्थानीय युवा राजेन्द्र अर्यालले जानकारी दिए ।

यसैबीच, इतिहासविद्हरूको टोलीले आइतबार श्रीनाथ मण्डली, ऐतिहासिक कोटहरू तथा टुँडिखेलको समेत स्थलगत अवलोकन गरेको थियो । स्थानीयसँगको छलफलमा प्रा.डा. गुरुङले तल्लो पामका विद्वान झाँगल गुरुङले पृथ्वीनारायण शाहका दिव्योपदेश तयार पार्न महत्वपूर्ण भूमिका खेलेको ऐतिहासिक उल्लेख रहेको जानकारी दिए ।

कार्यक्रमका सहभागीहरूले सिरानचोक गाउँपालिका पूर्वअध्यक्ष राजु गुरुङ, राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठान तथा गाँखु–काठमाडौं एकता समाजको समन्वयमा ऐतिहासिक अध्ययन र अवलोकनको महत्वपूर्ण अवसर जुटेको बताएका छन् ।