काठमाडौं । सुरक्षित पुनर्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शन गरिएको छ । होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले शनिबार (असार १३) काठमाडौंको माइतीघर–बबरमहलमा प्रदर्शन गरेका हुन् ।
सुरक्षित पुनर्स्थापना, भूस्वामित्वसहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट बलपूर्वक हटाउन नहुने उनीहरूको माग छ ।
उनीहरूले सरकारले पटक–पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानुनबमोजिम दिगो, उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न पनि माग गरेका छन् । पुनर्स्थापना नै गर्ने भए घर भत्काइएको स्थान वा कानुनबमोजिम उपयुक्त ठाउँमा भूस्वामित्वसहितको स्थायी व्यवस्थापनको समेत उनीहरूले माग गरेका छन् ।
होल्डिङ सेन्टरमा रहेकालाई हट्नका निम्ति पटक–पटक दबाब दिँदा मानसिक तनाव उत्पन्न भएको उनीहरूले बताएका छन् । सरकारका विभिन्न निकाय र प्रहरीले २५ हजार रुपैयाँ बुझेर होल्डिङ सेन्टर छाड्नका निम्ति दबाब दिएको उनीहरूले उल्लेख गरे ।
आफूहरूलाई सरकारले सडकमा अलपत्र पार्न खोजेको भन्दै तत्काल उचित व्यवस्थापन गर्न उनीहरूले माग गरे ।
प्रदर्शनमा सहभागीले ‘डोजर होइन, समाधान दे’, ‘जनता मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन’, ‘गरिबमाथिको ज्यादती बन्द गर’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले शुक्रबार (असार १२) सूचना जारी गर्दै यही असार १९ गतेसम्म होल्डिङ सेन्टर छाड्न भनेपछि उनीहरू आन्दोलित भएका हुन् ।