• असार १२ २०८३, शुक्रबार

मन्त्रीको अमलेटमा काँडा भेटिँदा जरिवाना गर्ने सरकारले सुकुमबासीको खानामा किरा भेटिँदा के गर्छ ? : सांसद रेनुु चन्द

असार १२ २०८३, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद रेनु चन्दले सुकुमबासीको खानामा किरा भेटिएको विषयलाई लिएर सरकारको कडा आलोचना गरेकी छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले गृहमन्त्री सुधन गुरुङलाई मेनु र सुकुमबासीको खानपानमा भएको विभेदबारे प्रश्न गरेकी हुन् ।

सांसद चन्दले गृहमन्त्रीले खान लागेको अमलेटमा काँडा भेटिएको घटनामा तीन लाख रुपैयाँ जरिवाना गरिएको प्रसङ्ग उल्लेख गर्दै सुकुमबासीको खानामा किरा भेटिँदा सरकारलाई कति जरिवाना हुन्छ भन्दै प्रश्न गरिन् । उनले सरकारले सुकुमबासीमाथि अन्यायपूर्ण व्यवहार गरेको आरोप समेत लगाइन् ।

सुकुमबासीलाई व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएर मत माग्ने तर सत्तामा पुगेपछि उठिबास लगाउने काम भइरहेको भन्दै उनले आक्रोश व्यक्त गरिन् । अहिले सरकारले होल्डिङ सेन्टरबाट समेत सुकुमबासीलाई हटाउने कार्य गरिरहेको उनले बताइन् ।

बैठकमा उनले भनिन्, ‘मन्त्रीले खान लागेको अमलेटमा काँडा भेटियो, तीन लाख जरिवाना लाउनुभयो । ठिक गर्नुभयो । सुकुमबासीको खानामा किरा भेटियो सरकारलाई कति जरिवाना लाउँदै हुनुहुन्छ ? अथवा सरकारलाई के कारबाही गर्दै हुनुहुन्छ ? सुकुमबासीलाई व्यवस्थापन गर्छौँ भनेर भोट माग्ने अनि कुर्सीमा पुगेपछि उठिबास लगाउने, यही हो जान्नेलाई छान्ने भनेको ? अहिले सुकुमबासीलाई सरकारले होल्डिङ सेन्टरबाट लखेट्ने काम गर्दैछ । हामी नयाँ हौँ, हर समस्याको समाधान गर्ने जादुमयी क्षमता बोकेर आएका छौँ भन्ने अनि सुकुमबासीको मानव अधिकार हनन गर्ने ? यो सरकारमा वैचारिक स्पष्टता छैन ।’

सांसद चन्दले आफूहरू सबै समस्या समाधान गर्ने दाबी गर्दै आएको वर्तमान सरकारले अहिले सुकुमबासीको मानवअधिकार नै हनन गरिरहेको आरोप लगाउँदै सरकारको जवाफ माग गरेकी छन् ।