• असार ११ २०८३, बिहीबार

भेनेजुएलामा ४० सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प,कयौँ मानिसहरू भग्नावशेषमा पुरिएको आशंका

असार ११ २०८३, बिहीबार

काठमाडौँ ।  दक्षिण अमेरिकी देश भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको छ । भेनेजुएलाको क्यारेबियन तटीय क्षेत्रमा बुधबार साँझ ७.२ र ७.५ म्याग्निच्युडको भूकम्प गएको हो । उक्त भूकम्प ४० सेकेण्डको अन्तरमा गएको हो ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार यस भूकम्पको केन्द्रबिन्दु भेनेजुएलाको केन्द्रीय क्षेत्रमा पर्ने काराबोबो राज्यको मोन्टालबान नगरपालिकामा रहेको छ । यो क्षेत्र काराकासबाट झण्डै ३०० किलोमिटर पूर्वमा पर्छ।

पृथ्वीको सतहबाट १३.२ किलोमिटरको गहिराइमा मात्र गएकाले यसलाई कम गहिराइको भूकम्प मानिएको छ। यस शक्तिशाली भूकम्पका कारण के कति क्षति भयो भन्नेबारे यकिन भइसकेको छैन ।
भूकम्पका कारण राजधानी काराकासमा दर्जनौँ भवन र घरहरू भत्किएका छन् भने कयौँ मानिसहरू भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।

गृह मन्त्री डियोस्डाडो काबेलोले राजधानीका चकाओ, अल्तामिरा र लस पालोस ग्रान्डेस क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएको र त्यहाँ ठूलो संख्यामा उद्धार टोली परिचालन गरिएको जानकारी दिएका छन्। भूकम्पपछि सम्भावित विष्फोट रोक्न सरकारले सहरका धेरै क्षेत्रमा ग्यास आपूर्ति बन्द गरेको छ।

भूकम्प लगत्तै हजारौँ मानिस सडकमा जम्मा भएका थिए । भूकम्पको धक्का छिमेकी देश कोलम्बिया र ब्राजिलसम्म पनि महसुस गरिएको थियो।