वीरगन्ज । तराई–मधेसमा केहि सातायता गर्मी अत्याधिक बढ्दै गएपछि पर्साको वीरगन्ज महानगरपालिकाले विद्यालयहरु दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै वीरगन्ज महानगरपालिकाले असार ११ र १२ गते (बिहीबार र शुक्रबार ) गरी दुई दिन महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
बुधबार वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेलले सार्वजनिक सुचना जारी गर्दै हाल अत्याधिक बढेको गर्मीले विद्यार्थीहरुको स्वास्थ्यमा परेको प्रतिकुल प्रभावलाई मध्यनजर गर्दै असार ११ र १२ गते महानगरका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन स्थगित गरिएको जनाएका छन् ।
गर्मी अत्याधिक बढेर विद्यार्थीहरु कक्षाकोठामै मुर्छित हुने अवस्था आएको भन्दै यहाँका अभिभावकहरुले विद्यालयहरुमा विदा दिनुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत आवाज उठाउँदै आइरहेका थिए ।
पर्सा, बारालगायत मध्यतराईका जिल्लाहरुमा गर्मी अत्याधिक बढ्दा विशेष गरी बालबालिका, दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, रिक्सा र ठेलाका चालक, गृहिणी महिलाहरु सबैभन्दा बढी समस्यामा परेका छन् ।