• असार ४ २०८३, बिहीबार

विपद् न्यूनीकरणकालागि सञ्चार क्षेत्रको भूमिका अपरिहार्य

असार ४ २०८३, बिहीबार

काठमाडौं । विपद् पत्रकारिता सञ्जाल डीजेएनद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी पत्रकार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धीत पत्रकार अभिमुखीकरण कार्यक्रममा सरोकारवालाहरुले विपद् न्यूनीकरणका लागि सञ्चार क्षेत्रको भूमिका अपरिहार्य रहेको बताए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले मनसुन भित्रनै लाग्दा विपद् प्रतिकार्य र पूर्व तयारीको कार्य चुस्त ढंगले अघी बढेको बताउँदै विपद् जोखिमबाट मानिसहरुलाई बचाउनकोलागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताईन । साथै विपद्बाट बच्नकोलागि पूर्व सूचना दिन पनि सञ्चार क्षेत्र निकै नै उपलब्धीपूर्ण भएको बताईन ।

त्यसैगरी जल तथा मौसम विज्ञान विभागका सिनियर हाइड्रोलोजिष्ट विनोद पराजुलीले पनि बाढी आउनुपूर्व विभिन्न स्थानमा स्वचालित उपकरण जडान गरिएको जानकारी दिए । कार्यक्रममा बोल्दै उनले नेपालमा बाढीजन्य विपद पूर्व अनुमान, पूर्व तयारी तथा नयूनीकरणका उपायहरूका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । जल तथा मौसम विज्ञान विभागकाका सिनियर हाइड्रोलोजिष्ट विनोद पराजुलीले पछिल्लो समय मौसम पूर्वानुमान मिल्दा बाढी आउने चेतावनी समेत मिल्ने धेरै सम्भावना रहेको र विपद्का घटना कम गराउन सहयोग हुँदै आएको बताए ।

कार्यक्रममा बोल्दै डिपीनेट नेपालका अध्यक्ष बसन्तराज अधिकारीले विभिन्न विपद्का घटनामा गलत सुचना फैलिने हुँदा सजग र सचेत रहनुपर्ने सुझाव दिए । उनले पत्रकारहरुलाई विपद्का घटनाहरुको बारेमा जानकारी गराउदै विशेष गरी विपद्का बेला गलत सूचना प्रवाह गरी झनै विपद्मा परेका पिडितहरुलाई दुःख दिने र समस्यामा पारेका गलत सूचनाप्रति पत्रकारहरु सचेत हुनु पर्ने बताए।

पत्रकार तथा डिजेएनका सदस्य महानन्द तिमल्सिनाले विपदका विभित्र आयाम, प्रभाव, राष्ट्रिय अन्तर्राष्ट्रिय नीतिगत पक्ष तथा पत्रकारले विपद्मा रिपोर्टिङ गर्दा ध्यान दिनुपर्ने पक्षका बारेमा पत्रकारहरुलाई जानकारी गराएका थिए ।

अभिमूखिकरण कार्यक्रममा बोल्दै डब्लुडब्लुजेका संस्थापक अध्यक्ष एवंम वरिष्ठ पत्रकार संगीता लामाले पनि विपद्मा रिपोर्टिङ गर्दा पत्रकारहरु सचेत हुनु पर्ने बताईन् । विपद्का कतिपय घटनाहरुलाई सामाजिक सञ्जालमा गलत रुप प्रयोग गर्ने भएको हुँदा यस्ता सम्वेदशील विषयमा संचार क्षेत्र तथा पत्रकारहरु सचेत भई कलम चलाउनु पर्नेमा जोड दिईन ।

त्यसैगरी कार्यक्रममा डीजेएनका अध्यक्ष अमिका राजथलाले लैंगिकता र विपद् सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै विपद्मा विशेष गरि महिला, बालबालिका, वृद्धवृद्धालाई विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गरिन् । विपद्का घटनामा महिला बढी जोखिममा पर्ने हुँदा यस्ता घटनाबाट बच्नकोलागि पत्रकारहरुले आफ्ना कलम मार्फत सूचनादेखि टाढा रहेका जनताहरुलाई सुसूचित गर्नुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा डीजेएनका कोषाध्यक्ष शोभा मानन्धरले संस्थागत चिनारी र स्वागत मन्तव्य दिएकी थिईन् भने कार्यक्रमको सहजिकरण सचिव देवी सापकोटाले गरेकी हुन् ।

वर्षेनी विपद्का घटनाबाट एक हजार भन्दा बढी मानिसहरुको ज्यान जाने भन्दै सरोकारवालाहरुले यस विषयमा सम्बन्धीत निकाय तथा पत्रकारहरु गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी पत्रकार अभिमुखीकरण कार्यक्रमकोलागि सहयोग सूचना तथा सञ्चार मन्त्रालयले गरेको हो ।