• असार ४ २०८३, बिहीबार

मगर भेजा समाज नेपालद्वारा हर्षोल्लासका साथ भूमे पर्व मनाइयो

असार ४ २०८३, बिहीबार

काठमाडौं । मगर समुदायले यस वर्ष पनि आफ्नो मौलिक सांस्कृतिक पर्व भूमे पर्व देश तथा विदेशका विभिन्न स्थानमा भव्य रूपमा मनाएका छन्।

भूमे पर्वको अवसरमा मगर समुदायले प्रकृति, भूमि तथा कृषि संस्कृतिको पूजा गर्दै राम्रो वर्षा, उर्वर भूमि, प्रशस्त अन्नबाली, सुख–शान्ति र समृद्धिको कामना गर्ने परम्परा रहेको छ।

यसै क्रममा मगर भेजा समाज नेपालका पदाधिकारी तथा सदस्यहरू संस्थाको ब्यानरसहित परम्परागत भेषभूषामा सजिएर काठमाडौंको खुलामञ्चमा आयोजित भूमे पर्व २०८३ कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रम भूमे पर्व संरक्षण नेपालले आयोजना गरेको थियो।

मगर समुदायको सांस्कृतिक पहिचानका रूपमा रहेको भूमे पर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले समाजका सदस्यहरू कार्यक्रममा सहभागी भएको हो ।

भूम्या पर्वको बारेमा बोल्दै संस्थाका अध्यक्ष एवंम पूर्व नेपाल प्रहरीका डिआईजी पार्वती थापा मगरले भूमे पर्वले मगर समुदायको संस्कृति, परम्परा र पहिचानलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सम्पूर्ण मगर समुदायमा शुभकामना व्यक्त गरिन् ।

विशेषगरी नेपालका अठार मगरात क्षेत्र तथा पश्चिमी एवं मध्य पहाडी भूभागमा बसोबास गर्ने मगर समुदायले असार १ गते भूमे देवताको पूजा गरी राम्रो वर्षा, उर्वर भूमि, प्रशस्त अन्नबाली, सुख–शान्ति र समृद्धिको कामना गर्दै भूमे तथा भूम्या पर्व मनाउने परम्परा रहिआएको छ।

भूमे पर्वको अवसरमा मगर भेजा समाज नेपालका सदस्यहरूले खुलामञ्चमा आयोजित कार्यक्रममा नाचगान, सांस्कृतिक प्रस्तुति तथा शुभकामना आदान–प्रदान गर्दै हर्षोल्लासका साथ योपर्व मनाएको संस्थाका उपाध्यक्ष खिम थापामगरले बताए ।