• जेष्ठ २० २०८३, बुधबार

विरोधाभाषको भुङ्रोमा प्रम बालेन

जेष्ठ १९ २०८३, मंगलवार

नेपाल–भारत–चीन अर्थात् लिम्पियाधुरा, लिपुलेक र कालापानीको त्रिदेशीय सीमा विवाद अहिले फेरि चर्चाको शिखरमा छ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले संसदमा आइतवार पहिलो पटक सांसदहरूको प्रश्नको जवाफ दिँदा नेपाल र भारतको मात्र प्रसङ्ग लिएर ‘भारतले मात्र होइन, नेपालले पनि सीमा मिचेको’ कुरा सार्वजनिक गरेपछि यो चर्चा चुलिएको हो ।

दुई देशीय सीमा विवाद मैत्रीपूर्ण हिसाबले साथीहरू बसेर समाधान गरिने भनी दिएको प्रष्टीकरण आफैमा स्वागतयोग्य त थियो नै । तथापि नेपालले भारतको सीमा कहाँनेर मिचेको तथ्यप्रमाण प्रम बालेनलाई कसले, कुन बेला र के उद्देश्यका साथ सुसूचित गराएछ भन्ने गम्भीर चासो र चिन्ता आमजनमानसमा बेलैमा जागृत हुन गएको छ ।

प्रम बालेनकै पार्टी अध्यक्ष रवि लामिछाने भारत भ्रमणमा २४ घण्टापछि जाँदै गर्दाको पूर्वसन्ध्यामा प्रम बालेनले यस्तो कुरा सार्वभौम संसदमा कसरी चुहाए ? वा, किन र कुन उद्देश्का लागि चुहाए ? संसदमा यसलाई बहसको विषय किन बनाए ?

भोलिका दिनमा ‘भारतले यसो दावा गरिरहेको थियो’ भनेर मैले बेलैमा संसदलाई जानकारी गराएको थिएँ’ भन्नका लागि हो कि ? अरू प्रधानमन्त्रीले संसदलााई जानकारी गराउँदैन थिए, मैले चाहिँ गराएको थिए’ भनेर आफू सुरक्षित हुनका लागि पनि हो कि ?

शुभचिन्तकहरूको अर्को तर्क पनि छ, या त पार्टी अध्यक्ष रवि लामिछाने र प्रम बालेनका बीचमा अन्तरविरोध सिर्जना गर्न यसो गरिएको पो हो कि ! किनकि रवि लामिछाने भारत जाँदै गर्दा ‘पासो थाप्न’ बालेनलाई ठीक एक दिन अघि अघि सारिएको हो कि ? किनकि आमसञ्चार जगतमा दिल्लीले रविलाई बालेनबाट भिन्न गराउन निकै पहल गरिरहेको सूचना आइरहेको छ ।

अर्को गम्भीर प्रश्न पनि छ, राजनीतिक विश्लेषकहरूको जगतमा । त्यो हो, कतै अमेरिका इरान युद्धबाट पछि हट्नु परिरहेको वर्तमान अवस्थामा व्यापार युद्धमा चीनसँग ‘बार्गेनिङ पावर’ बढाउन भारतलाई आफ्नो पक्षमा तान्न नेपालको सीमा विवादलाई अमेरिकाले प्रम बालेन मार्फत् दिल्लीसँग ‘बार्गेनिङ चिप्स’ का रूपमा प्रयोग गर्ने कार्यनीति अघि सारेको त होइन ?

अर्को प्रश्न पनि छ, राष्ट्रिय स्वतन्त्र पार्टीको दुईतिहाई नजिकको बहुमत रहँदाका बखत ५ वर्षको आवधिक स्थिरतलाई खल्बल्याउन ‘एक तीरले दुई चरा मार्न’ प्रम बालेनको अनपेक्षित अभिव्यक्ति र रविको भारत भ्रमणको जोहो गरिएको त होइन । किनकि प्रम बालेनको संसद प्रश्नोत्तरका लागि उपस्थिति आकस्मिक र संयोगपूर्ण छ ।

पहिलो दिन प्रम बालेनको संसदमा आकस्मिक सांसद प्रश्नोत्तर र दोस्रो दिन रविको दिल्ली भ्रमण ! भेंडा हराउनुपूर्व चितुवा कराउनु ! नेपाल मामला वासिङ्गटनले ‘वार्गेनिङ चिप्स’ बनाउन थालेको आभाष आजको पनि होइन । यो त खुला किताबजस्तै छ ।

अर्को चल्दै आएको तीतो विरासत भनेको जो कोही पनि सत्तामा रहँदा कुर्सी जोगाइ राख्नका लागि ‘भेटी’ चढाउने परिपाटीले बालेन सरकारमा पनि निरन्तरता पाएकै हो ? किनकि, बालेन अहिले देशका हर्ताकर्ता छन्, प्रधानमन्त्री बालेनका रूपमा । व्यक्त वा अव्यक्त रूपमा कतै सीमा विवाद समाधानका नाममा कुर्सी जोगाउने खेल त चलिरहेको छैन ?

योसँग जोडिएको प्रश्न हो, प्रम बालेन नेपाल र नेपालीका प्रधानमन्त्री हुन सक्ने अवस्था छैन वा होइनन्, वा हुन चाहेनन्, वा थिएनन् ? किनकि, सीमा विवाद सल्टाउने नाममा हुँदै नभएको कुरा गरी आफ्नो हात तल पारेर, आफूलाई नखाएको विष लगाएर लट्ठ पारी ‘झुम सरावी’ को तालमा कुर्सी जोगाउने खेल त चलेको होइन कतै !

कि रास्वपा अध्यक्ष रवि लामिछानेले ‘बालेन सरकारको मामलामा हस्तक्षेप नगर्ने’ र प्रम बालेनले ‘पार्टी सञ्चालनका मामलामा हस्तक्षेप नगर्ने’ सहमतिको समय र सीमा सकिएको हो ? ‘भाइ फुटे, गवार लुटे’ त हुँदै छैन !

अहिले आमजनमानसमा प्रम बालेनलाई अमेरिकाले कसरी चलाउँछ, रविलाई भारतले कसरी नजिक गराउँछ, चीनले यी सबै कुरालाई कसरी हेर्छ र विपक्षीलाई कसले कुन बेला उच्याउँछ मच्चाउँछ र नेपालमा फरि अर्को दुर्दशा निम्तन्छ भन्ने सन्त्रासले चिमोट्न थालिसकेको छ ।