काठमाडौं । विभिन्न संस्करणको बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ठ ठहर भएका चिनियाँ चलचित्रहरू नेपालमा प्रदर्शन हुने भएका छन् । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा‘ अन्तर्गत रहेर आगामी जुन २ देखि ४ सम्म ६ वटा अवार्ड विजेता चिनियाँ चलचित्र काठमाडौंमा देखाइने भएको हो ।
चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर चलचित्र प्रदर्शन गर्ने तय भएको हो । यसका लागि काठमाडौंस्थित चिनियाँ साँस्कृतिक केन्द्रसहित त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र लुम्बिनी बुद्धिस्टका कन्फुसियस इन्स्टिच्युटहरूको पनि सहयोग रहेको छ।
ठमेलस्थित छायाँ सेन्टरमा ६ वटै फिल्महरू सशुल्क प्रदर्शन गरिने आयोजक नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले जनाएको छ । चिनियाँ चलचित्र उद्योगसँग नेपाली चलचित्रकर्मीको सम्बन्ध विस्तार हुने उद्देश्यका साथ आफूहरू जोडिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए ।
अध्यक्ष पाठकले भने, ‘चिनियाँहरू नेपाली चलाचित्र बजारमा आकर्षित भइरहेको पाइन्छ । जसका कारण नेपाली चलाचित्रकर्मीहरूलाई चीन भ्रमण गराउने तथा चीनमा नेपाली चलचित्रको महोत्सव गराउने कार्यमा चिनियाँ सहयोग बढ्न थालेको छ । हामीले पनि चिनियाँ चलचित्रहरूलाई नेपाली दर्शकमाझ प्रदर्शनमा सहकार्य गरेर दुई देशका चलचित्रकर्मीबीच सम्बन्ध विस्तार होस् भन्ने पक्षमा केन्द्रित छौं । नेपाली चलचित्र चीनको ठूलो बजारमा प्रवेश गर्ने माध्यम यस्तै कार्यक्रमहरू उपयुक्त अवसर बन्न सक्छन् भन्ने ठानेर बिगत लामो समयदेखि हामी अभियानमा छौं र त्यो समय अब नजिक आयो भन्ने हामीलाई लागेको छ।’
जेष्ठ १९ मा प्रदर्शन हुने चलचित्र
कार्यक्रमको पहिलो दिन तीन चलचित्र देखाइने तालिका रहेको छ । बिहान साढे ११ बजे सुरु हुने यस कार्यक्रममा पहिलो चलचित्र ‘ट्रयाप्’ प्रदर्शन हुनेछ । जुन सन् १९९५ मा चीनमा बन्दुक प्रतिबन्ध हुनुभन्दा एक वर्षअघि जेलबाट भागेको एक गुण्डाले सहरमा बितण्डा मच्चाएको कथामा आधारित छन् । क्राइम थ्रिलर जनरामा बनेको यस फिल्मको निर्देशक सागर झाङ हुन् ।
यसले बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट पटकथा र सह-अभिनेताको अवार्ड जितेको थियो । निर्देशक झाङ्गको दर्शकसँग प्रश्नोत्तर पनि हुने जनाइएको छ।
दिउँसो ३ बजे प्रदर्शन सुरु हुने झिहाई लिउद्वारा निर्देशित फिल्म ‘बियोन्ड द स्काइज’ युद्धको कथामा बनेको चलचित्र हो । बेलुको ५ बजेबाट प्रदर्शन हुने चलचित्र ‘समर डायरी’का निर्देशक वु शुआङ हुन् । आमाको खोजीमा निस्किएका एक पात्रको यात्रामा यो चलचित्र बनेको छ ।
अन्य चलचित्र (जेष्ठ २०-२१)
रुई कुई र सियाङ लिउ निर्देशित चलचित्र ‘लस्ट इन द स्टार प्रदर्शन हुने तालिका छ । यो चलचित्र गर्भवती महिला हराएको रहस्यमी घटनामा आधारित छ । ‘द स्याडोलेस टावर’ झाङ लु निर्देशित यस चलचित्र प्रेम कथामा आधारित छ । दाशाङ कोङ निर्देशित साइन्स फिक्सन चलचित्र ‘जर्नी टु द वेस्ट’ प्रदर्शन हुनेछ । एलियनको खोजीको कथामा बनेको यो चलचित्र ब्यङ्ग्यात्मक वृत्तचित्र शैलीमा बनेको छ ।