काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनको समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नक्खु कारागारबाट बाहिरिएपश्चात् काठमाडौंमा आगजनीका घटना झन् बढेको निष्कर्ष निकालेको छ ।
२०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनमा भएका मानवअधिकार हनन्का घटना छानबिनपश्चात् आयोगले तयार पारेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।
“…सुरक्षाको कारण देखाउँदै रवि लामिछाने कारागारबाट बाहिरिएपश्चात् सो कारागारका बन्दीहरू कारागार तोडी बाहिर निस्किएको पाइन्छ । ततपश्चात् काठमाडौंमा आगजनी झन् बढेको मिसिल प्रमाणबाट देखिन्छ,” प्रतिवेदनमा भनिएको छ ।
भदौ २४ गते लामिछाने थुनामा रहेको ललितपुरको नक्खुस्थित कारागारमा रास्वपाका नेता तथा तत्कालीन सांसदहरू मनिष झा र हरि ढकालसहितको भिडले कारागार घेरेको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि लामिछाने कारागारबाट बाहिरिएका थिए ।
“रवि लामिछाने कारागारवाट बाहिर निस्किएको र नक्खु कारागारका अन्य कैदीबन्दीहरू पनि कारागारबाहिर गएको भन्ने समाचार प्रकाशित भएपश्चात् रवि लामिछाने कारागारबाट बाहिरिन हुने हामी छुट्न किन नहुने भन्ने भाष्य निर्माण भई देशभरका सबैजसो कारागार र बाल सुधार केन्द्र नौबस्ती बाँकेमा समेतमा कारागार, बन्दीगृह आदि तोड्ने कार्य भएको,” प्रतिवेदनमा स्पष्टसँग भनिएको छ ।
यसैक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूउपर समेत सांघातिक आक्रमण भई तीन प्रहरी कर्मचारी समेतको मृत्यु र करिब २५० जना गम्भीर रूपमा घाइते हुन पुगेको पनि मिसिल प्रमाणबाट देखिएको प्रतिवेदनमा जनाइएको छ ।
“सोही कारणबाट २५ गते कारागारबाट भाग्ने प्रयास गर्दा सुरक्षाफौजको गोली लागि बाल सुधार केन्द्र नौबस्ती बाँके, रामेछाप कारागार र सिन्धुली कारागार समेतका गरी देहाय बमोजिमका १० जना बालबन्दी तथा कैदीबन्दीहरूको मृत्यु भएको पाइन्छ,” प्रतिवेदनमा उल्लेख छ ।