काठमाडौं । फ्रान्सले इजरायली सुरक्षा मन्त्री इतामार बेन गभिरलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
गाजातर्फ गइरहेको सहायता जहाजहरूको समूह ‘ग्लोबल सुमुद फ्लोटिला’बाट समातिएका अभियन्ताहरूलाई इजरायली सैनिकहरूले नियन्त्रणमा लिएर बाँधेको अवस्थामा उनीहरूलाई गिज्याएको आरोपमा फ्रान्सले इजरायलका राष्ट्रिय सुरक्षामन्त्री गभिरलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको घोषणा गरेको हो ।
गभिरले बुधबार इजरायली हिरासतमा रहेका फ्लोटिलाका विदेशी अभियन्ताहरूमाथि गरिएको कठोर व्यवहार देखाउने एउटा भिडियो सार्वजनिक गरेपछि विश्वभर आक्रोश फैलिएको थियो । सोही आक्रोशपछि यो प्रतिबन्ध लगाइएको समाचारमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय जलक्षेत्रमा इजरायली सैनिकहरूले जहाजलाई आफ्नो नियन्त्रणमा लिएपछि ती अभियन्ताहरूलाई इजरायलले हिरासतमा राखेको थियो । उक्त भिडियोमा दर्जनौँ अभियन्ताहरूलाई आफ्ना हात बाँधिएको अवस्थामा निधार भुइँमा टेकेर घुँडा टेक्न बाध्य पारिएको देखिन्छ ।
फ्रान्सेली विदेशमन्त्री जिन–नोएल ब्यारोटले एक्समा लेख्दै, मानवीय सहायतार्मीको हिस्सा रहेका फ्रान्सेली र युरोपेली नागरिकहरूप्रति गरिएको उनको निन्दनीय व्यवहारपछि इतामार बेन गभिरलाई फ्रान्सेली भूमिमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको बताएका छन् ।
उनले इटालीसँग मिलेर उग्र–दक्षिणपन्थी इजरायली मन्त्रीविरुद्ध युरोपेली संघस्तरमै प्रतिबन्ध लगाउन आह्वान गरिरहेको पनि बताएका छन् ।
‘इजरायलमा स्वागत छ’ भन्ने क्याप्सन राखिएको उक्त भिडियो क्लिपमा बेन गभिरले इजरायलको झण्डा हल्लाउँदै अभियन्ताहरूलाई गिज्याइरहेको देखाइएको थियो । यस व्यापक आक्रोशपछि इजरायलले ती अभियन्ताहरूलाई देश निकाला गरिरहेको बताएको छ ।
गत महिना इजरायली सेनाले अर्को एउटा समूहलाई रोकेपछि गाजामाथिको इजरायली नाकाबन्दी तोड्न अभियन्ताहरूले गरेको यो पछिल्लो प्रयास थियो, जसमा ३६ जना फ्रान्सेली नागरिकहरू सवार थिए ।
विदेशमन्त्री ब्यारोटले फ्रान्सले फ्लोटिलाको यस कदमप्रति असहमति जनाए पनि विशेषगरी एक सार्वजनिक अधिकारीद्वारा फ्रान्सेली नागरिकहरूलाई यसरी धम्क्याउने वा दुव्र्यवहार गर्ने कुरा स्वीकार गर्न नसकिने बताएका छन् ।