• बैशाख २८ २०८३, सोमबार

अध्यादेशका दफादफा केलाएर सरकारलाई हाइसञ्चो मानेर बस्न दिनेछैनाैं : सचेतक निश्कल राई

बैशाख २८ २०८३, सोमबार

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारले ल्याएका अध्यादेशका दफादफामा जबाफ खोज्ने र सरकारलाई हाइसञ्चो मानेर बस्न नदिने बताएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा धारणा राख्दै उनले दुई तिहाइ नजिकको शक्तिशाली सरकार सदनसँग डराएर अध्यादेशको बाटो हिँडेको बताए।

‘अध्यादेश ल्याउनै नहुने भन्ने हाम्रो भनाइ होइन, तर अध्यादेश संसदको भावना र आवश्यकताअनुसार आउनुपर्छ,’ उनले भने, ‘सत्ता सहजताको साधन बन्न हुँदैन। अहिलेको अध्यादेश त्यसअनुकूल छैन। जसको दफा दफामा हामी सदनमा जबाफ खोज्नेछौं, सरकारलाई हाइसञ्चो मानेर बस्न दिँदैनौं।’

संवैधानिक परिषदसम्बन्धी अध्यादेशले संविधानको मर्म र वादलाई कतैबाट पनि फाइदा नपुर्‍याएको उनले बताए। ६ सदस्यीय संवैधानिक परिषदमा प्रधानमन्त्रीसहित ३ जना सदस्यको निर्णय कसरी बहुमत पुग्न सक्छ भनेर उनले प्रश्न गरे।

अध्यादेशले प्रधानमन्त्रीलाई थप शक्तिशाली बनाइएको उनले बताए। उनले विकासको नाममा सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएको पनि बताए।