• बैशाख २४ २०८३, बिहीबार

भूमि व्यवस्था मन्त्रालयले जारी गर्याे एमालेको पार्टी कार्यालय हटाउने सूचना

बैशाख २४ २०८३, बिहीबार

काठमाडाैं । नेकपा एमालेको पार्टी कार्यालय हटाउनुपर्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा रहेको पार्टी कार्यालय खाली गराउनुपर्ने भएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकार प्राप्त जग्गा र उक्त जग्गामा बनेको संरचना खाली गर्न भन्दै आज एक सूचना प्रकाशित गरेको छ ।

‘सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधनसहित)’ को दफा २१ को उपदफा (२) बमोजिम भोगाधिकार प्राप्त भएको र हालसम्म लिजमा परिणत नगरेको जग्गा तत्काल खाली गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

भनिएको छ,‘मिति २०७३–२–३१ र मिति २०७४–०१–२१ मा तत्कालीन भूमिसुधार तथा व्यवस्थापन विभागबाट प्रकाशित भएको सूचनाको म्यादभित्र लिजमा परिणत गर्न निवेदन नदिएका व्यक्ति, संस्था तथा निकायहरुले भोगाधिकार लिएको जग्गाको भोगाधिकार स्वतः समाप्त भइसकेकोले सम्झौताको शर्तबमोजिम तिर्न बुझाउन बाँकी रकम भए सरकारी कोषमा दाखिला गरी त्यस्तो जग्गा र त्यसमा निर्मित संरचनासमेत तत्काल खाली गर्न ।’

त्यो सूचनासँगै एमालेको पार्टी कार्यालय पनि हटाउनुपर्ने भएको हो । एमालेले तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानको नाममा २०५८ चैतमा मन्त्रिपरिषद्बाट स्वीकृत गराएर १२ रोपनी ६ आना पाँच पैसा तीन दाम जग्गा भोगचलन गर्दै आएको छ । तर, उक्त जग्गा लिजमा परिणत गरिएको छैन।