काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणालीअनुसार समायोजन गर्दै पेट्रोल र डिजेलको भाउ घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आज (शुक्रबार) मध्याह्न १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य कायम गरेको हो।
नयाँ दररेटअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटेको छ। त्यसैगरी, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १२ रुपैयाँको ठूलो गिरावट आएको छ। यो समायोजनपछि पहिलो वर्गका क्षेत्रहरू (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा कायम भएको छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २२२ रुपैयाँ ५० पैसा पुगेको छ।
पेट्रोलियम पदार्थमा राहत मिले पनि खाना पकाउने एलपी ग्यासको मूल्यमा भने उच्च वृद्धि भएको छ। निगमले प्रतिसिलिन्डर ग्यासमा १५० रुपैयाँ बढाएको छ। अब उपभोक्ताले एक सिलिन्डर ग्यासका लागि २,१६० रुपैयाँ तिर्नुपर्नेछ।
यसैगरी, हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर ७ रुपैयाँ वृद्धि गरिएको छ। अन्तर्राष्ट्रिय उडानतर्फको इन्धनमा भने प्रति किलोलिटर ४६ अमेरिकी डलर बढाइएको निगमले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढाव र विशेष गरी पश्चिम एसियामा जारी तनावका कारण आयात महँगो पर्न गएकाले मूल्य समायोजन गर्नुपरेको निगमको दाबी छ। पछिल्लो समय भारतबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार ग्यास र हवाई इन्धनमा घाटा उच्च रहेकाले मूल्य बढाउनु परेको निगमले स्पष्ट पारेको छ।
यो मूल्य समायोजनपछि पनि निगमलाई आगामी १५ दिनमा करिब १ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।