• बैशाख १७ २०८३, बिहीबार

आर्थिक नाकाबन्दीलाई प्राथमिकता दिंदै ट्रम्पले अपनाए युद्धको नयाँ रणनीति

बैशाख १७ २०८३, बिहीबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धका लागि नयाँ रणनीति अपनाउँदै आर्थिक दबाबलाई तीव्र बनाएका छन् ।

इरानलाई वार्ताको टेबलमा फिर्ता ल्याउन र आणविक कार्यक्रममा आफ्ना सर्तहरू मान्न बाध्य पार्ने उद्देश्यले राष्ट्रपतिले रणनीतिको एक हिस्सा स्वरूप इरानी बन्दरगाहहरूमा अमेरिकी नौसैनिक नाकाबन्दी जारी राख्ने र हर्मुज जलमार्गलाई दीर्घकालीन रूपमा बन्द गराउनेसम्मको आधार तयार गर्न आफ्ना शीर्ष सल्लाहकारहरूलाई निर्देशन दिएका हुन्।

सैन्य हमलाहरूको साटो आर्थिक नाकाबन्दीलाई प्राथमिकता दिँदै ट्रम्पले तेहरानलाई सम्झौताका लागि तयार पार्न अधिकतम आर्थिक पीडा दिने रणनीति अख्तियार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । उनले इरानको हालको अवस्थालाई ‘निसास्सिएको’ संज्ञा दिँदै अमेरिकासँग वार्ताका लागि सबै बलिया आधारहरू रहेको दाबी गरे।

यो रणनीति ट्रम्पका लागि राजनीतिक र आर्थिक रूपमा जोखिममुक्त भने देखिएको छैन । इरानसँगको द्वन्द्व नवौं हप्तामा प्रवेश गरिसक्दा पनि ठोस निकास निस्कन सकेको छैन, जबकि ट्रम्पले यसअघि यो द्वन्द्व छ हप्ताभन्दा बढी नजाने भविष्यवाणी गरेका थिए ।

जलमार्गको अवरोधका कारण विश्वव्यापी रूपमा ग्यासको मूल्य प्रति ग्यालन ४ डलर नाघेको छ, जसले अमेरिकी उपभोक्ताहरूमा असन्तुष्टि बढाएको छ । पेन्टागनका अनुसार यो द्वन्द्वमा अमेरिकाले हालसम्म २५ अर्ब डलर खर्च गरिसकेको छ, जसले आगामी नोभेम्बरको चुनावमा रिपब्लिकन पार्टीको सम्भावनालाई लिएर चिन्ता बढाएको छ ।

ट्रम्पले यो द्वन्द्वलाई युक्रेन युद्धजस्तै लामो समयसम्म जान सक्ने संकेत गरे पनि अमेरिकी गुप्तचर निकायहरूले भने नाकाबन्दीका कारण इरानी अर्थतन्त्र पतनको संघारमा रहेको र केही दिनमै घुँडा टेक्ने विश्लेषण गरिरहेका छन् ।