• श्रावण १० २०८३, आईतवार

दुई साताका लागि होर्मुज खुला गर्ने इरानको अनुमति

चैत्र २५ २०८२, बुधबार

काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीको आधिकारिक विज्ञप्ति आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सार्वजनिक गरेका छन् । अमेरिका र इरानबीच भएको युद्धविराम सहमतिको पुष्टि गर्दै ट्रम्पले उक्त विज्ञप्ति सार्वजनिक गरेका हुन् ।

विदेशमन्त्री अराघचीले जारी गरेको विज्ञप्तिमा क्षेत्रीय युद्ध अन्त्यका लागि पाकिस्तान र त्यहाँको नेतृत्वले गरेको अथक प्रयासको उच्च प्रशंसा गरिएको छ । उनले मध्यस्थताका लागि पाकिस्तानप्रति आभार प्रकट गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘इरानमाथि भइरहेका आक्रमण रोकिएमा हाम्रा शक्तिशाली सशस्त्र बलले पनि आफ्ना कारबाही बन्द गर्नेछन् ।’

सहमतिको सबैभन्दा महत्त्वपूर्ण पाटोका रूपमा इरानले आगामी दुई साताका लागि ‘होर्मुज’बाट हुने आवतजावतलाई अनुमति दिने भएको छ । इरानी सेनासँगको समन्वयमा उक्त मार्गबाट व्यापारिक जहाज सञ्चालन गर्न सकिने अराघचीले स्पष्ट पारेका छन् ।

ट्रम्पले इरानी सभ्यता नै नष्ट पारिदिने चेतावनी यसअघि दिएका थियो । उक्त चेतावनी लगत्तै पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुखको विशेष अनुरोधमा आक्रमणको निर्णय स्थगित भएको हो । इरानी पक्षको यो सकारात्मक प्रतिक्रियासँगै मध्यपूर्वमा तत्कालका लागि ठुलो युद्ध र संकट टरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।