काठमाडौं । काठमाडौंको टोखास्थित बसुन्धारामा सुकुम्वासी बस्तीमा काठमाडौं महानगरले डोजर चलाई घरहरु भत्काएकोमा सुकुम्वासी समस्या समाधान गर्ने विषयसँग सम्बन्धित संगठनहरुले कडा विरोध जनाएका छन् । आज काठमाडौंको संवाद डबलीमा एक कार्यक्रम गर्दै उनीहरुले यसरी विरोध जनाएका हुन् ।
सो अवसरमा बोल्दै राष्ट्रिय भूमि आयोगका पूर्वउपाध्यक्ष नहेन्द्र खड्काले भूमि सम्बन्धि कानूनको विपरीत टोखाका सुकुम्वासी बस्तीमा डोजर चलाइएको बताए । उनले यो सरकार रास्वपाकै इसारामा बनेकोले रवि र बालेनले डोजर चलाउन रोक्नु पर्नेमा त्यसो नगरेकोमा आक्रोस पोखे ।
साथै उनले काठमाडौं नगरको प्रमुख हुँदा बागमती नदीका किनारमा बस्दै आएका सुकुम्वासी बस्तीमा डोजर चलाएर घरबारविहीन बनाएका बालेनले फेरि पनि डोजर चल्दा केही नबोलेको बताए ।
कार्यक्रममा विभिन्न वक्ताहरुले मन्तव्य राखेका थिए । उनीहरुले संविधानले दिएको अधिकार अनुसार सुकुमवासीहरुको उचित व्यवस्थापन गर्नुको साटो डोजर चलाएर घर भत्काउनु र घरबार विहीन बनाउनु कानुन विपरीतको काम भएकोमा जोड दिए ।
सो अवसरमा बोल्ने धेरै वक्ताहरुले सरकारको यही रवैया जारी रहेको खण्डमा अर्को भूमि आन्दोलन चर्काउनु पर्नेमा जोड दिए । सुकुमवासी बस्तीमा डोजर चल्दा पनि भावी प्रधानमन्त्री बालेन साह र रवि लामिछाने केही नबोल्नु रहस्यमय रहेको वक्ताहरुको भनाई रहेको छ । भूमि आयोगमा सूचिकृत भइसकेका बस्तीहरुमा डोजर चलाउनु गैरकानूनी कार्य भएको वक्ताहरुको भनाई रहेको छ ।
बुधबार मात्र मिडियाहरुमा त्यहाँका स्थानीयले महानगर– १६ मा रास्वपाबाट विजयी वडा अध्यक्ष रोजिना श्रेष्ठको आदेशमा सुकुमवासी बस्तीमा डोजर चलाइएको भन्दै आक्रोस पोखेका थिए ।