काठमाडौं । मध्यपूर्वमा चलेको युद्धको चपेटामा परेका नेपाली तथा विश्वभरका मजदुरहरुको सुरक्षाको ज्ञारेन्टी गर्न माग गर्दै आज काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।
प्रदर्शन अमेरिका इजरेल विरुद्ध लक्षित छ । साम्राज्यवादी युद्ध आतङ्कका कारण मध्यपूर्वमा कार्यरत नेपालीहरूको सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिएको प्रदर्शनकारीहरुको भनाई रहेको छ । विभिन्न दलमा आवद्द विद्यार्थी संगठनहरूले आजकाे प्रदर्रशनकाे आयाेजना गरेका हुन् ।
३ हप्ता अघि अमेरिका इजरेल गठबन्धनले सार्वभौम राष्ट्र इरानमाथि फौजी हमला सुरु गरेपछि यसको प्रतिकारमा इरानले पनि प्रतिहमला सुरु गरेको छ ।
हमला तथा प्रतिहमलाका कारण खाडीका दर्जनौं देशका कारखानाहरुमा कार्यरत नेपालीहरु समस्यामा परेका छन् । खासगरी इरानमाथिको अप्रत्यासित हमला र त्यसको प्रतिकारमा इरानले अमेरिकी सैन्य अखडा भएका खाडीका देशहरुमा इरानले मिसाइल हमला गर्न थालेपछि खाडीक्षेत्रमा कार्यरत नेपालीहरु समस्यामा परेका हुन् ।
कतार, साउदी, यमन, ओमन, कुवेत, इराक, जोर्डन र खासगरी इजरेलमा इरानले हमला गर्न थालेपछि युद्ध थप चर्किएको छ । दुवैतर्फबाट फौजी ठेगानाहरुमा गरिएको हमला अब भने तेल खानी तथा तेल प्रशोधन केन्द्रहरुमा लक्षित गर्न थालिएको छ ।
एकहप्तामै युद्ध सकेर इरानलाई समाप्त पार्ने अमेरिकी योजनामा गरिएको हमलाको इरानले शसक्त प्रतिकार गरेपछि युद्ध थप लम्बिएको छ । युद्ध अमेरिकाले चाहेभन्दा फरक तरिकाले गएपछि युद्ध अन्त्य गर्ने योजनामा रहेको डोनल्ड ट्रम्पले बताउँदै आएका छन् । पछिल्लोचरणमा बिनाकारण इरानमाथि हमला सुरु गरेको भन्दै अमेरिकाविरुद्ध विश्व जनमत जान थालेको छ ।