• चैत्र ७ २०८२, शनिबार

प्रविधिको प्रयाेग र लोकप्रियतावादको लहरका कारण चुनाव हारिएकाे कांग्रेसकाे निष्कर्ष

चैत्र ६ २०८२, शुक्रबार

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न निर्वाचनको प्रारम्भिक समीक्षा गर्दै प्रविधिको ‘एल्गोरिदम’ र ‘लोकप्रियतावाद’ को लहरका कारण पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको छ।

पार्टीले शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा पेस गरेको आफ्नो समीक्षा प्रतिवेदनमा आधुनिक प्रविधिले मतदाताको स्वतन्त्र विवेकलाई नियन्त्रणमा लिएको दाबी गरेको छ । पछिल्लो समय विश्वव्यापी रूपमा बढेको लोकप्रियतावादको लहरलाई गम्भीर रूपमा लिन नसक्नु पार्टीको ठुलो कमजोरी रहेको उपसभापति विश्वप्रकाश शर्माले बताए ।

निर्वाचनमा विचार, सिद्धान्त र एजेन्डाभन्दा पनि जनताको असन्तुष्टि, आवेग र निराशालाई ‘कच्चा पदार्थ’ बनाएर मत बटुल्ने काम भएको कांग्रेसको ठहर छ । ‘पुराना सबै खराब र नयाँ आएपछि सबै ठिक हुन्छ’ भन्ने भाष्य निर्माण गरेर मतदाताको निर्दोष मनोविज्ञानमा प्रभाव पारिएको समीक्षामा उल्लेख छ। कतिपय ठाउँमा मतदाताले उम्मेदवार नै नचिने पनि ‘एक पटक नयाँलाई हेर्ने’ लहरका कारण मतदान गरेको कांग्रेसले जनाएको छ ।

प्रतिवेदनमा सबैभन्दा रोचक विषय ’एल्गोरिदम’ को प्रभावलाई बनाइएको छ। कांग्रेसले भनेको छ, ‘पहिले भू–भाग कब्जा गरिन्थ्यो, अहिले एल्गोरिदमले मानिसको दिमाग, व्यवहार र निर्णय कब्जा गर्छ।’

परम्परागत प्रचार शैलीबाट आधुनिक बन्ने क्रममा रहे पनि नेपाली मतदातालाई एल्गोरिदमको ’कैद’ बाट मुक्त गराएर स्वतन्त्र विवेकको खुला मैदानमा ल्याउन नसक्नु पराजयको मुख्य कारण रहेको कांग्रेसको निष्कर्ष छ।

आगामी दिनमा नागरिकलाई यो डिजिटल ’उपनिवेश’ बाट स्वतन्त्र गराउन राजनीतिक र प्राविधिक रूपमा नयाँ रणनीति बनाउनुपर्नेमा पार्टीले जोड दिएको छ । यस्तै, निजी क्षेत्रको विकासमा कांग्रेसले लिएको नीतिका कारण देशमा चौतर्फी परिवर्तन आए पनि त्यसको श्रेय लिन र जनतालाई बुझाउन नसक्दा पार्टीले आलोचना खेप्नुपरेको प्रतिवेदनमा उल्लेख छ।