• चैत्र ६ २०८२, शुक्रबार

‘हेर्दाहेर्दै’मा राखिएको रवि लामिछानेविरुद्धको सङ्गठित अपराध मुद्दाको आज फैसला हुन सक्ने

चैत्र ५ २०८२, बिहीबार

काठमाडौँ ।  सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ गर्दैछ ।

सर्वोच्चका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा गत आइतबारदेखि निरन्तर भइरहेको सुनुवाइ मंगलबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

बुधबार काठमाडौँ उपत्यकामा घोडेजात्राको सार्वजनिक बिदा भएकाले हिजो भने बहस हुन सकेन । सम्भवतः बहस सकिएमा आजै फैसला आउन सक्नेछ ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् ।

उक्त निर्णयविरुद्ध अधिवक्ता युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।