वाशिङ्गटन डीसी । अमेरिकी सेनाले इरानको तटीय क्षेत्रमा रहेका भूमिगत मिसाइल साइटहरूलाई लक्षित गरी ५,००० पाउण्डका अत्याधुनिक ‘गाइडेड’ बमहरू प्रहार गरेको छ।
इरानी मिसाइल केन्द्रहरूलाई ध्वस्त पार्न यो कारबाही गरिएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ।
अमेरिकी सेनाले जमिनमुनि धेरै गहिराइसम्म पसेर लक्ष्य ध्वस्त पार्न सक्ने ‘एड्भान्स्ड ५-के पेनिट्रेटर’ बमको प्रयोग गरेको छ। सेन्ट्रमका अनुसार ती साइटहरूमा रहेका इरानी ‘एन्टी-शिप क्रुज मिसाइल’हरूले अन्तर्राष्ट्रिय समुद्री व्यापार र ढुवानीमा ठूलो जोखिम खडा गरेका थिए।
यो बम सन् २०२१ मा पहिलो पटक परीक्षण गरिएको थियो र यसलाई हालसम्मकै सबैभन्दा शक्तिशाली ‘बंकर बस्टर’ हतियारमध्ये एक मानिन्छ।
यो बम प्रविधिमा आधारित भएकाले वर्षा, बादल वा हिउँ जस्तोसुकै प्रतिकूल मौसममा पनि यसले आफ्नो लक्ष्यमा अचुक प्रहार गर्न सक्ने सैन्य अधिकारीहरूले बताएका छन्।
इरानले अमेरिका, इजरायल र उनीहरूका सहयोगी राष्ट्रका जहाजहरूलाई निशाना बनाउने धम्की दिएपछि होर्मुज जलडमरू क्षेत्रको सुरक्षा संवेदनशीलता बढेको थियो।
राष्ट्रपति ट्रम्पले यसअघि इरानमा अमेरिकी प्रयासलाई समर्थन गर्न अनिच्छुक रहेको भन्दै नेटो सहयोगीहरूको आलोचना गरेका थिए। राष्ट्रपतिले अमेरिकाले पहिले नै इरानको नौसेना र वायुसेनालाई ध्वस्त पारिसकेको र अब नेटो, जापान, अष्ट्रेलिया वा दक्षिण कोरियाबाट सहयोगको आवश्यकता नरहेको बताएका थिए।
इजरायलले युद्धको पहिलो दिनमा सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि शासनका सबैभन्दा महत्त्वपूर्ण व्यक्तित्वहरूलाई मेटाउने आक्रमणमा इरानको सुरक्षा प्रमुख र बासिज अर्धसैनिक बलका प्रमुखलाई मारेको बताएको छ ।